जलवायु परिवर्तन र बंगलादेशी बालबालिका

बंगलादेशको कुल १६ करोडमध्ये ४० प्रतिशत जनसंख्या बालबालिकाको छ, शोधकर्ताका अनुसार यी बालबालिकाले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेका छन्

नयाँ पत्रिका दैनिक

मोसब्बर होसैन

१२ वर्षीय अलअमिनको घर दक्षिण बंगलादेशस्थित इल्सा नदीको किनारमा थियो । गत वर्ष भीषण बाढीले घर बगाएपछि परिवार राजधानी ढाकानजिकको केरानीगन्जको झुग्गीबस्तीमा बसाइँ सर्न बाध्य भयो ।

दुई वर्षअगाडि बुबाको क्यान्सरले मृत्यु भएपछि अलअमिन जहाजको कबाडी मजदुरी गर्दै आएका छन् र आमाले मजदुरका लागि खाना पकाउँछिन् । दुवैको आम्दानीले आमा, अलअमिन र दुईजना तीन र पाँच वर्षका भाइबहिनीको जीविका चलाउन जसोतसो पुग्छ । ‘कुनैवेला हाम्रो आर्थिक अवस्था ठिकै थियो ।

मेरा श्रीमान्ले खेती गर्थे र छोरो नजिकैको प्राथमिक विद्यालयमा पढ्थ्यो,’ अलअमिनकी आमा अमिना बेगम बताउँछिन् । नदीले सम्पत्ति बगाउनु र क्यान्सरको असफल उपचारपछि अलअमिनसँग ज्यालामजदुरीको विकल्प छैन भन्दै बेगम दुखेसो गर्छिन् । 

प्रतिकूल मौसमका कारण हुने बाढीपहिरो र हावाहुरीका कारण दक्षिणी बंगलादेशका हजारौँ परिवार ढाकाका झुग्गीबस्तीमा सर्न बाध्य छन् । यसरी सरेका परिवारका अधिकांश बालबालिका शिक्षाबाट वञ्चित हुन्छन् र जिन्दगीभरका लागि श्रमको बोझ बोक्न बाध्य हुन्छन् ।

राष्ट्रसंघीय नियोग युनिसेफको गत अगस्टको प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुक बंगलादेश, अफगानिस्तान र भारतका बालबालिका जलवायु परिवर्तनका कारण ‘अत्यधिक’ जोखिममा छन् । सो प्रतिवेदनले ३३ मुलुकका करिब एक अर्ब बालबालिका जलवायु परिवर्तनको जोखिममा छन् भन्ने जनाएको छ ।

प्रतिवेदनमा युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक जर्ज लार्या–एड्जीले ‘हामीले पहिलोपटक दक्षिण एसियाका दशौँ लाख बालबालिका जलवायु परिवर्तनले प्रभावित भएको स्पष्ट प्रमाण देखिरहेका छौँ’ भनेका छन् ।

युनिसेफका अधिकारीअनुसार खडेरी, बाढी र पहिरोले यस क्षेत्रका बालबालिकालाई घरबारविहीन तथा भोको बनाएको छ, स्वास्थ्य उपचार एवं स्वच्छ खानेपानीबाट वञ्चित बनाइदिएको छ र धेरै बालबालिका विद्यालय छोड्न बाध्य भएका छन् । 

प्रकाशित मिति: : 2022-06-17 13:46:00

प्रतिकृया दिनुहोस्