गण्डकीको नीति तथा कार्यक्रम : भ्रूण हत्याविरुद्ध सचेतना, नि:शुल्क आधारभूत स्वास्थ्य सेवा

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

गण्डकीको नीति तथा कार्यक्रममा प्रदेश स्वास्थ्य नीतिको कार्यान्वयनका लागि जोड दिइएको छ। आवश्यक प्रबन्ध मिलाइएर प्रदेशमा जनसंख्या व्यवस्थापनको लागि प्रदेश जनसंख्या नीति तर्जुमा गरी लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

बढ्दो सहरीकरण, आन्तरिक तथा बाह्य बसाइँसराइ जस्ता विषयको समयानुकूल व्यवस्थापन गरि यसबाट सिर्जना हुने जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गरिनेछ। साथै, लिङ्ग पहिचान गरी गरिने भ्रूण हत्याविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

बालबालिका तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेश सरकारका सबै कार्यक्रममा मूलप्रवाहीकरण गरिनेछ। साथै, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषणलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरी विशेष प्याकेजको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रदान गर्न प्रदेश सरकारसँग बा-आमा कार्यक्रम सञ्चालन गरिनेछ। साथै, मानव सेवा आश्रम/वृद्धाश्रममा आश्रित दीर्घरोग लागेका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधी निःशुल्क रूपमा उपलब्ध गराइनेछ नीति तथा कार्यक्रममा उल्लेख छ। स्पाइनल इन्जुरी तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापन र पुनर्स्थापनाको लागि ह्विलचियर, कृत्रिम हातखुट्टा लगायतका आवश्यक सहायक सामग्री उपलब्ध गराइनेछ।

साथै, सहज उपचारको लागि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरलगायत प्रजनन अङ्गको क्यान्सरको नि:शुल्क उपचारलाई निरन्तरता दिइनेछ। जिल्ला अस्पतालहरूबाट प्रत्येक महिना पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँच (VIA) नि:शुल्क गरिनेछ। साथै, महिला तथा १६ वर्षमुनिका बालबालिकामा हुने सबै प्रकारका क्यान्सरको निःशुल्क उपचार आरम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ:

प्रकाशित मिति: : 2022-06-07 18:29:00

प्रतिकृया दिनुहोस्