नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो।
एक टेलिभिजन कार्यक्रममा बोल्दै भुसालले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए। नेतृत्वले अझ बर्बाद पार्न खोजेको तर, जनताले इतिहासको मूल्यांकन गरिसकेको बताएका थिए।
‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ,’ घनश्यामले भनेका थिए।
उनले चितवनको सौराहमा सम्पन्न १० औं महाधिवेशनलाई सौराह काण्डको संज्ञा दिएका थिए।
‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ ,’ उनले भनेका थिए।
यहि तरिका हो भने आफूहरू भिरको नजिक-नजिक रहेको उनले जनाएका थिए। घनश्यामको उक्त अभिव्यक्तिपछि अनुशासन आयोगले कारवाही सिफारिस गरेको हो।
कारवाही सिफारिस गरिएपछि पार्टीभित्र नै विरोध सुरू भइसकेको छ। एमाले सचिव योगेश भट्टराईले आवेग र उत्तेजनाले कसैलाई पनि सहि ठाउँमा नपुर्याउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत भुसालमाथि कारवाहीको विषयमा आफ्नो धारणा व्यक्त गर्दै उनले सबै संयम हुनुपर्नेमा जोड दिएका छन्। यता भुसालले पार्टीभित्रका सम्पूर्ण गलत कामको छानविन गरिनुपर्ने माग राखेका छन्।
पार्टी बिगार्ने काम अध्यक्ष ओलीले गरेको भन्दै उनीमाथि छानविन हुनुपर्ने माग उनकाे छ। आफ्नो अडानबाट पछि नहट्ने भन्दै एमाले पार्टी बचाउन आफू गलतकाविरुद्ध बोल्ने बताएका छन्।