छुमचाैर : विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ

Breaknlinks
Breaknlinks

संसारभर भएका उत्कृष्ट गतिविधिका रेकर्डहरु छन्। ती मध्ये केही साह्रै रुचिकर छन्। केही अथक परिश्रमबाट बनेका रेकर्डहरु छन्, त केही अर्थ न पर्थका छन्। जस्ताे कि संसारका लामा नङ्ग भएका, कपाल लामा भएका, खुर्सानी धेरै खाएका आदि।

यी सबैलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लिपिवद्ध गरिएकाे छ। तर, जुम्लाकाे छुमचाैर यस्ताे ठाउँ हाे, जाे गिनिज बुकमा नलेखिइकन वर्ल्ड रेकर्डेट छ। छुमचाैर यसरी रेकर्डेट हुनुकाे कारण हाे, त्यहाँ जतिकाे उचाइमा संसारभर अन्त कतै धान फल्दैन।

राेप राेप राेप्नेरीओै हातकाे बीउ छिन्जेल भाइ।
आउँनै रया जाँदै रया, बजुकाे जिउ, छिन्जेल भाइ
आउँनै रया जाँदै रया, बाेबकाे जिउ, छिन्जेल भाइ
आउँनै रया जाँदै रया, जियाकाे जिउ, छिन्जेल भाइ
बाबा, काकी, काका, आदि...।

छुमचाैरका मान्छेले संसारकाे अग्लाे स्थानमा धान फलाउनलाई, संसारकै विशिष्ट मेहनत गर्दागर्दा गाउने चुट्किला हाे, याे।

जिल्लाभरि गाइने सामुहिक गीत यस्ताे छ।
ऋतु रानाय, 
ऋतु ऋतु आइर गयाे, ऋतु रानाया
इल्छा पाती पलाइगयाे, ऋतु रानाया
डिल प्याउँली फुलिगयाे, ऋतु रानाया। 
ऋतु ऋतु आइर गयाे, ऋतु रानाया।

अर्थात् ऋतुहरुकाे पनि रानाे ऋतु, राेपाइँ गर्ने ऋतु। यतिबेला जुम्लाका जिउलाहरुमा मार्सी धान राेप्न थालिएकाे छ। जुन संसारकाे अग्लाे स्थानमा छुमचाैर (२८ सय ५० देखि तीन हजार मिटर सम्म) फल्छ।

विज्ञान र प्रविधिकाे व्यवस्थित विकास नभएकाे जुम्लामा झण्डै सात ८ सय वर्ष यता मार्सी धान फलिरहेकाे छ। विश्वले सेकेन्ड सेकेन्ड नयाँ र उत्कृष्ट प्रविधिकाे विकास गरे पनि जुम्लाले अपनाएकाे परम्परागत प्रविधिबाट संसारकाे उचाे स्थानमा फलाएजस्ताे कसैले गर्न सकेकाे छैन।

यदि यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउने हाे भने छुमचाैरका साथसाथै यहाँका महिलाले गर्ने श्रम र उहाँकाे परम्परागत प्रविधिलाई पनि समेट्नुपर्ने हुन्छ।

आज छुमचाैरलाई कृषि अनुसन्धान केन्द्र जुम्लाले छुम जिउलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान बीउबाट राेपाईं गरिएकाे छ।

लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरेर यस वर्षदेखि कृषकसम्म पुर्‍याउन छुम ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धानको बिउ रोपिएको हाे।

फाट्टफुट्ट धान रोपिने भएपनि एक दशक यता छुमचाैरका किसानले धान रोप्ने गरेका छैनन्। धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेका हुनाले धान रोप्ने छोडिएको थियाे।


आज चैत २० अर्थात् मार्सी धानको बिउ छर्ने दिन (भिडियाेसहित) 


धान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटि यार्सागुम्बा टिप्ने सिजन जुद्नाले पनि धान रोप्न छोडिएकाे स्थानीयकाे भनाइ छ। कम उत्पादन हुने धान भन्दा यार्सागुम्बाबाट कयाैं गुणा बड्ता आम्दानी हुन्छ।

यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाईका लागि हली, बाउसे, रोप्नेरी कोही पनि घरमा नहुने हुनाले धान रोप्न छोडिएको हो। त्यसैले पछिल्लो समय छुम जिउलाेमा गहुँ, सिमी मकै, आलु मात्रै लगाउने गरिन्छ।

कृषि अनुसन्धान केन्द्र जुम्लाका बरिष्ठ वैज्ञानिक रेशम बाबु अमगाईका अनुसार जुम्ली मार्सी बलाष्ट रोग संक्रमणले उत्पादनमा ह्रास आउने गरेको थियो।

छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त सुधारिएको जुम्ली मार्सी धानको बीउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए।

'सुरुमा कृषि अनुसन्धान केन्द्रभित्रै रोप्ने गरिएकाे उक्त धान अब जिल्लाभर विस्तार गर्ने लक्ष्य रहेकाे छ,' उनले भने, 'यो वर्षदेखि रोगमुक्त सुधारिएको जुम्ली मार्सी धानकाे बीउ रोपेका छौं। यसैबाट हरेक कृषकको घरमा रोगमुक्त धानको बीउ फैलाउने हाे।'

हालसम्म जुम्ली काली मार्सी धानको पेपेन्ट राइट सुरक्षित छैन। त्यसैले कृषि अनुसन्धान केन्द्र पेटेन्ट राइट सुरक्षित गर्न लागिरहकाे छ। यसका लागि उसले सिफारिसकाे प्रक्रिया अगाडि बढाउने भएकाे छ।


जुम्ली चिउराको यस्तो छ, ८ सय वर्षे इतिहास


बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौंले सूचीकृत गरेपछि जुम्लाकाे काली मार्सी धानकाे पेटेन्ट राइट सुरक्षित हुनेछ।

काली मार्सीको उत्पत्ति नै जुम्लामै भएको दाबी गर्दै यसको पेटेन्ट राइट लिएकाे खण्डमा जुम्लाकाे छुमचाैर विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँकाे रुपमा विश्वसमुदाय माझ थप परिचित हुनेछ।

प्रकाशित मिति: : 2022-06-02 07:35:00

प्रतिकृया दिनुहोस्