मार्सी धानको पात्राेअनुसार आज चैत २० गते बिसुवा पर्व पर्छ। अर्थात्, मार्सी धानको बिउ छर्ने दिन। मार्सी धान उत्पादन गर्ने किसानको लागि ठूलो पर्व।
चैत १२ गते धान भिजाउने बारुवा पर्व, १६ गते धान भिजाएको धानलाई उतार्ने र उम्रन सहज पार्नलाई घरमा राख्ने र चिउरा कुट्ने दिन अर्थात् सोरुवा पर्वका रूपमा मनाइन्छ।
चार दिन भिझाएर उतारिएको धान घाममा हल्का सुकाएर भोजपत्र, सल्लाका झुप्रा, लिउ, राडिपाखी, फेरुवामा बेरेर न्यानो गरी राख्ने गरिन्छ। हरेक साँझ, बिहान चिसो मुलको पानी छर्केपछि बिउ अंकुरानउन थाल्छ।
मुलको चिसो पानी र भान्साको न्यानोले चार दिनमै बिउ टुसाएर पनि ठूलो भइसक्छ।
चैत २० गते अंकुराएर ठूलो भएको बिउ डोकोमा सफा पछ्यौरा वा प्लास्टिकको बेरा बेरेर त्यसमा हालिन्छ। घरका महिला वा पुरुसले बोकेर बेर्नामा लगि बिउ छर्छन्।
यसरी बिउ छर्नुअघि बेर्ना बनाउनुपर्ने हुन्छ। बेर्ना सफा गर्ने काम वसन्त पञ्चमीको दिनलाई उत्तम साइत मानिन्छ। देशभर चैत लागेपछि वसन्त ऋतु आएको मानिन्छ भने जुम्लामा ऋतुहरुको पनि रानाे ऋतु रोपाई गर्ने ऋतु आएको मानिन्छ।
यसरी ऋतु आएको संकेत कुनै तोकिएको महिनाले भन्दा पनि बदलिएको वातावरणले गर्छ। पलाएका, प्याउँली फूलहरुले गर्छन्। रानो ऋतु आउन आँटेको बेला जुम्लाकी महिलाहरुले चुट्किला नामको गीत गाएर स्वागत गर्छन्। चुट्किला यस्तो हुन्छ।
ऋतु रानाय,
ऋतु –ऋतु आइर गयो, ऋतु रानाय,
इल्छा वाती पलाइगयो, ऋतु रानाय,
डिल प्याउँली फुलिगयो, ऋतु रानाय,
घार मौरी ठुन्कीगयो, ऋतु रानाय,
ऋतु –ऋतु आइर गयो, ऋतु रानाय।
ऋतुहरुको पनि राम्राे ऋतु रोपाइँ गर्ने ऋतुलाई महिलाहरुले मात्रै नभइ पुरुषहरुले पनि स्वागत गर्छन्।
सरक्या गडुली, सरक्क आइछ,
गाडको माछुली, लड्किन लाइछ,
लेखको डाँफुली, खुइकुन लाइछ,
सरक्या गडुली, सरक्क आइछ।
बालीनाली एकको एक्काईस हुने, ढरा भकारी भरिने, सुविकाल लाग्ने हुनाले रानो ऋतुको स्वागत गर्नु अपरिहार्य मानिन्छ। बेर्ना सपार्ने दिन जोत्ने गोरुको काँधमा तेल लगाउने गरिन्छ। ताकी जेठभरि गोरुले रोपाइमा सघावस। कुनै असहज नहोस्।
प्रायजसो खोलापानेका खेतमा बेर्ना राख्ने चलन हुन्छ। खोलाको पानीले सिंचाइँ गर्ने जिउलोलाई खोलापाने भनिन्छ। कुलाको पानीभन्दा खोलाको पानी छिटो तातिने हुनाले बेर्नाको बिउ छिटो हुर्किन्छ र सप्रिन्छ पनि।
बढी जग्गा जमिन हुनेको ठूलो बेर्ना हुन्छ भने कम जमिन हुनेहरु एउटै बेर्नामा तीन/चार जनाले काम चलाउँछन्। उनीहरूले पालो–पालो गरी पानी हाल्ने गर्छन् भने एउटै हुनेले दैनिक पानी हाल्न गइरहनुपर्छ।
छारो धुलो केही पानी नबचेको बेर्ना खाजोत गर्ने, मइ लगाएर हिले बनाउने, बिँगारो लगाई सम्याएर समथल पारिन्छ। कहिँकतै पनि उबडखाबड हुनु हुँदैन।
त्यसरी तयार पारिएको बेर्नामा सुरुसुरुमा चार ओैंलभन्दा बेसी पानी राख्न हुँदैन। यसरी तयार भएको बेर्नामा बिउ छरेको १० दिनसम्म पानी बढी राख्दा बिउ उत्रिएर बिग्रने सम्भावना हुन्छ।
जब बिउले जमिनमा जरा गाड्छ। त्यसपछि विस्तारै पानीको मात्रा बढाउँदै लागिन्छ। भरी डोको बिउ लिएर बेर्नामा छर्न पुग्नेले फर्किनेबेला डोकोभरी खुसी बोकेको हुन्छ।
टुसाएको बिउको केही बचाएर घरमा ल्याएपछि त्यसलाई हल्का उसिनेर सुकाएपछि ओखलमा धान कुटेजस्तै कुटिन्छ। त्यसबाट निस्किएको चामललाई सिडौरा भनिन्छ।
चाम्रा खालका सिडौराबाट एक दुईमुठी मुखभरि हालेर भिजाइभिजाइ रस निकालेर खाइन्छ। असाध्यै रसिला सिडौराको स्वादले खेतीपातीमा मन लाग्ने गरी आशा जगाउँछ।
त्यही आशले बीसुवाको दिन घरमा मिठो मसिनो गरी छोरी चेलीलाई समेत डाकेर खुवाइन्छ। मासु र क्वाटीलगायत विशेष परिकार यसैबेला बन्छन्।
दैनिजसोको रेखदेखले सप्रिएको बिउलाई जेठको पहिलो हप्ताबाट उखेलेर रोप्न थालिन्छ।
रापेको खेतमा दैनिक पानी हालेर असारमा गोडमेल गरिन्छ। करिब ६ महिना राम्रो हेरचाह गरेपछि कार्तिक पहिलो साता किसानका ढरा, भकारी मार्सी धानले भरिन थाल्छन्।
जस्तो मार्सी धानको गाडा रातो रंग त्यस्तै किसानको हँसिलो तन हुन्छ भने उमंगले भरिएको मन हुन्छ।