कास्कीकाे माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोकका गौरीलाल अधिकारी र गोविन्द अधिकारी बाल्यकालका साथी हुन्। उमेरले गोविन्द ७ दशक पूरा गरिसके, गौरीलालले ६।
यी दुई वृद्ध गाउँ/ठाउँमा भएको विकासे फड्कोले दंग छन्। दुवैले घर नजिकै खुलेको पोखरा फाइनान्सबाट बृद्ध भत्ता बुझ्छन्। अन्य बैंकिङ, आर्थिक कारोबारका लागि प्रभु बैंक र लाइफ इन्स्योरेन्सका शाखा पनि लाहाचोकमै पुगेको छ।
‘पालिका बनेपछि धेरै सुविधा आको छ। पहिला गाडी चढ्न हेम्जा मिलनचोक पुग्न पर्थ्याे। अहिले साँझै/बिहानै गाडी छुट्छ। १०, १५ मिनेटमा त पोखरै पुगिन्छ,’ गोविन्द भन्छन्,‘पालिका बनेपछि त धेरै सुविधा आछ।’
अहिले ठूला आर्थिक कारोबार र इन्स्योरेन्स गर्न सहर जानैपर्ने बाध्यता टुटेकोमा यी दुवै वृद्ध चकित छन्। ‘पैसा बैंकमा हाल्न पनि पोखरै पुग्न पथ्र्यो। अहिले त बैंक पनि घर नजिकै छ, पोखरा र यहाँ केही फरक छैन,’ गौरीलाल थप्छन्।
गाउँमा पनि आधुनिक शैलीका घर बन्दै छन्। आरसिसी गरेका ढलान घरले लाहाचोक पुग्दा साँच्चिकै सहर पुगेको अनुभूति मिल्छ। ‘यहाँ साँघुरो थियो। यहाँ ठूलो पोखरी थियो भैँसी बाँध्थ्यौं। त्यो पोखरी अहिले यस्तो देख्न पाइयो। अब भोलि/पर्सि बाँच्न पाए कस्तो देख्न पाइएला,’ गोविन्दले भने।
गौरीलालले हैदराबादमा २ वर्ष सेक्युरिटी गार्ड बने। घर फर्केपछि फेरि गएनन्। भन्छन्,‘बा आमा बुढाबुढी भए। केटाकेटी हुर्किए। आएपछि गइनँ।’ गोविन्दलाई भने बा ले जान लागेको थाहा पाएर रोकेका रहेछन्।
गाउँमै खेती गरेर जिन्दगीको आखिरी समयतिर पुग्न लागेका यी दुवैले गाउँमै खेती किसानी गरेर बिताए। खेती गरेर उब्जाएको उब्जनी बजारसम्म पुग्ने अवस्था थिएन। गाउँमै कुहिएर सकिन्थ्यो। अहिले खपत बाहेकका सबै उब्जनी बजार पठाउँछन्, लाहाचोकबासी। यो सबै देख्दा सहर जार्नैपर्छ भन्ने बाध्यता हटेको दुवै बृद्ध बताउँछन्।
१७ वर्षेदेखि रोजगारीका लागि मलेसिया आउजाउ गरिरहेका लाहाचोककै माधव अधिकारी पनि अब गाउँमै बस्ने योजनामा छन्। पालिकाबाट अनुदान लिएर कृषि फर्म सुरू गर्ने सुर कसेका छन्, उनले। ‘सुविधा छ, पालिका आएपछि केही गरौं भने सहयोग गर्छ, रे। अब पासपोर्टको अवधि पनि सकिनँ लायो। अब यतै केही गर्ने सोचेको छु,’ उनी भन्छन्,‘पहिला त केही गरौं भने पनि त्यस्तो अवसर थिएन।’
माधव अहिले ४५ वर्षका भए। बाटो सजिलो बनेपछि उनका छोरा स्कुटरमै कलेज पढ्न पोखरा जाने आउने गर्छन्। ‘पहिला उतै डेरा लिएर बसेको थियो। अहिले स्कुटरमै आउनेजाने गर्छ। पढ्नलाई घर छोड्न पनि परेको छैन,’ उनी भन्छन्।
माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल सेवा प्रवाह गर्ने विषयमा जनप्रतिनिधिसँग सहकार्य गर्दै, जनप्रतिनिधिकै नीति अबलम्बन गर्दै आएको बताउछन्। ‘उहाँहरूसँग छलफल र समन्वयपछि यहाँको कार्य सम्पादन गर्दै आइरहेका छौँ। यसले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध र नीति कार्यान्वयन गर्न पनि सहजता मिलेको मैले महसुस गरेको छु,’ उनले भने।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि यहाँका जनताको अपेक्षा निकै ठूलो रहेको उनले बताए। पूर्वाधारको विकास गर्नुपर्ने र हरेक कुरा व्यवसायीक बनाउनुपर्ने, कृषि आधुनिकीकरण र व्यवसायीक गराउनुपर्ने लगायत रोजगारी सिर्जना गर्नुपर्ने धेरै कुरा पूरा गर्नुपर्ने दायित्व जनप्रतिनिधिहरूलाई बढेको उनले सुनाए।
‘ती सबैलाई व्यवस्थित गर्नुपर्ने चुनौति थियो। यसलाई व्यवस्थापन गर्न सकियो भने मात्रै पनि यहाँका नागरिकको आय आर्जनमा बृद्धि हुनेछ। त्यो पूरा गर्न पालिकाले ठूलो भूमिका पनि निभाइरहेको छ,’ उनले भने।
माछापुच्छ्रे गाउँपालिकाको कार्यालय ३ करोड ८५ लाख ५५ हजार रूपैयाँ लगानीमा बन्दैछ।