सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
भौतिक मन्त्रालयका लागि चालू अर्थात् आर्थिक वर्ष ०७८/०७९ को तुलनामा आगामी वर्षको बजेट ५ अर्ब ३४ करोड रुपैयाँले बढी हो । चालू आवमा भौतिक मन्त्रालयको बजेट १ खर्ब ५६ अर्ब २२ करोड रुपैयाँ छ ।
सरकारले आगामी वर्षका लागि भौतिक पूर्वाधारको क्षेत्रमा अधिकांश राष्ट्रियस्तरका पुराना आयोजनालाई नै निरन्तरता दिएको छ । विगतका वर्षदेखि नै निर्माण, विस्तार तथा स्तरोन्नति गर्दै आएका पुराना आयोजनालाई निरन्तरता दिएको अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत घाषणा गरेका छन् ।