जुन देशको अर्थतन्त्र आयातले मात्र धानिएको छ त्यस्तो ‘ल्याण्ड-लक्ड’ मुलुकले कम्तीमा आफ्नै एयरपोर्टमा कार्गो झार्यो भने मात्र अर्को मुलुकमाथि परनिर्भरता कम हुन्छ ।
२०७९ मा सर्वोच्च अदालतबाट निजगढ विमानस्थल सम्बन्धमा मौखिक फैसला आएको भनी सनसनीपूर्ण हल्ला आएपछि यस सम्बन्धमा चर्चा र बहस छ । यो विमानस्थल नेपालको आवश्यकता हो कि होइन भन्ने सम्बन्धमा यस आलेखमा चर्चा गरिएको छ ।
पृष्ठभूमि
सन् १९९२ जुलाइ ३१ (वि.सं. २०४९ साउन १६ गते) का दिन थाई अन्तर्राष्ट्रिय वायुसेवाको फ्लाइट-३११ विमान बैंकक्बाट काठमाडौं आउँदा रसुवाको पहाडमा ठोक्कियो । सो दुर्घटनामा चालक दलका १४ सदस्यसहित ९९ जना यात्रुको निधन भयो ।
यसैगरी सन् १९९२ को सेप्टेम्बर २८ -वि.सं. २०४९ असोज १२ गते) का दिन पाकिस्तानी अन्तर्राष्ट्रिय वायुसेवाको ए ३०० एअरबस ललितपुरको भट्टेडाँडामा दुर्घटना भयो । यस दुर्घटनामा सो जहाजमा यात्रारत १६७ जना यात्रुको निधन भयो । यी विमान दुर्घटना संसारमा भएका १०० वटा भयावह दुर्घटनाभित्र पर्दछन् ।
नेपालमा भएका यी दुई कहालीलाग्दा दुर्घटनाको कारण अन्तर्राष्ट्रिय जगतमा नेपाली हवाई आकाश असुरक्षित भएको सन्देश प्रवाह भयो । यसले गर्दा चारैतर्फ डाँडाले घेरिएको काठमाडौं त्रिभुवन विमानस्थल जोखिमपूर्ण छ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने स्थानको अध्ययन कार्य नेपाल सरकारले वि.सं. २०५१ मा थाल्यो ।