जुम्ला बहुमुखी क्याम्पसमा ताला, प्रमुखले अनियमितता गरेकाे आराेप

जुम्ला बहुमुखी क्याम्पसमा ताला लगाइएकाे छ। क्याम्पस प्रमुख, लेखा र प्रशासनले नियमविपरीत गतिविधि गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेकाे त्रि.वि.प्राध्यापक संघ क्याम्पस इकाई सभापति डम्बर बहादुर महतले बताए।

'हामीले बारम्बार क्याम्पस प्रमुखलाई नियमअनुसार चल्नुस् भनेर सुझाव दिँदै आएका छाैं,' उनले भने, 'उहाँका कुनै पनि गतिविधि नियमअनुसार छैनन्। क्याम्पस लथालिङ्ग छ। अध्ययन अध्यापनकाे वातावरण छैन।'

साेमबार बिहान एक प्रेस विज्ञप्ति निकालेर क्याम्पस प्रमुख, प्रशासन, लेखा र शैक्षिक भवन सबैमा तालाबन्दी गरिएको त्रि.वि. कर्मचारी संघ क्याम्पस इकाई सभापति बिरबहादुर थापाले बताए।

'त्रिभुवन विश्वविद्यालय जस्ताे संसारभर ख्यातिप्राप्त संस्था त्यसमा पनि कर्णालीकाे एकमात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पस दिन प्रतिदिन खस्केपछि हामी आन्दोलनमा हाेमिएका छाैं,' उनले भने, 'क्याम्पसलाई सहि ढंगबाट संचालन गर्ने वातावरण नहुन्जेलसम्म ताला खुल्दैन।'

विज्ञप्तिमा भनिएको छ, 'शैक्षिक उन्नयनको धरोहरको रुपमा स्थापित जुम्ला बहुमुखी  क्याम्पस विभिन्न आरोह अवरोह पार गर्दै यस स्थितिमा पुगेको छ। विगतका दिनहरुमा जुम्ला बहुमुखी क्याम्पसका धेरै क्याम्पस प्रमुखहरुले प्रशासनिक जिम्मेवारी बहन गर्दै आउँदा शैक्षिक गुणस्तरकाे जग बसालेकाे र भौतिक पूर्वाधारको पूर्ण विकास गरेको सर्वविदितै छ। तर, मिति २०७७ साल श्रावण १६ गतेदेखि डा. ओमप्रकाश आचार्य क्याम्पस प्रमुखमा नियुक्त भएपछि जुम्लाकै शैक्षिक गतिविधि र क्याम्पसको चाैतर्फी विकास निर्माण हुने कुरामा हामी सम्पूर्ण प्राधापक तथा कर्मचारीहरु विश्वस्त थियौं। तर, उहाँ यस क्याम्पसमा नियुक्ति भएदेखि क्याम्पसको शैक्षिक तथा प्रशासनिक क्षेत्र खस्कनु मात्रै हाेइन स्खलित हुँदै नियमित गतिविधिहरु समेत ढिला सुस्ती हुँदै गएको सेवाग्राहीकाे गुनासाे छ।'

आन्दोलनरथ प्राध्यापक र कर्मचारीले मनपरी ढंगले प्रशासन संचालन गर्ने शिक्षक तथा कर्मचारीहरुको मनोवल गिराउने, क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्य लथालिङ बनाउने कामकाे विराेध गरिएकाे बताएका छन्।

'पछिल्लो समय क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखको मिलोमतोमा मनाेमानी रुपमा हुने क्याम्पसको मर्मत सम्भार तथा सामान खरिद जस्ता विविध अनियमित गतिविधिहरु हरेक दिन उदाउने र अस्ताउने घामजस्तै बनेका छन्,' विज्ञप्तिमा भनिएकाे छ,' प्रशासनबाट यस्ता क्रियाकलापहरु बारम्बार हुने गरेपछि क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले यस्तो क्रियाकलाप नगर्न बारम्बार सुझाव दिँदै आएका कयाैं दृष्टान्तहरु छन्। तर, सचेत वर्गकाे सुझावलाई रद्दीकाे टाेकरीमा फाल्ने काम क्याम्पस प्रमुखबाट भएकाे हुँदा हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ।'

आन्दोलनकारीले केही दिन अगाडि खरिद गरिएका सोफासेट, दराज, कुर्ची, टेबल, वाटर हिटर, मेसीनरीलगायत लाखाैंका सरसामानहरु सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित भएकाे समग्र क्याम्पसलाई विधि र पद्धतिमा संचालन गर्ने विषयमा क्याम्पस प्रमुख आफैँले बारम्बार बाेल्दै आएका छन् भने क्याम्पसमै बारम्बार निर्णय समेत भएपनि आफैँले गरेका निर्णयहरु विपरित क्याम्पस प्रमुखले मनोमानी ढंगले कार्य गर्दै आउनु भएपछि विराेध गर्नुपरेका बताएका छन्।

'क्याम्पस प्रमुख अधिकांश समय बाहिर बस्दा क्याम्पसका तमाम कामहरु प्रभावित भएकाे सभापति महतले बताए। 'देशकाे शासन व्यवस्था र संघीयताकाे मर्मविपरीत जुम्ला बहुमुखी क्याम्पसकाे परीक्षा केन्द्र सारेर सुर्खेत पुगाई विकेन्द्रीकरणकाे सिद्धान्तको खिल्ली उड्दासमेत उहाँले कुनै पनि खालकाे पहल चल्नुभएन,' उनले भने, 'उहाँ बेलाबेला क्याम्पसकाे स्तरउन्नतीकाे बाहानामा टीएडीएसमेत लिइ काठमाडौं जाने गर्नुहुन्छ तर उपलब्धि शून्य हुने गरेका तमाम उदाहरण छन्।'

'क्याम्पस प्रमुखबाट कुर्सीकाे दुरुपयोग गरी विगतका गठन भएकाे क्याम्पस संचालक समिति मानाेमानी ढंगबाट विघटन गरी तीन जनाले नियमविपरीत आर्थिक अनियमितता गर्ने मनसाय नसुध्रिएसम्म हरेक कार्य क्याम्पस संचालन समितिको निर्णय बमोजिम मात्र गर्ने प्रतिबद्धता नभएसम्मकाे लागि क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनहरुमा आजैका मितिदेखि तालाबन्दी गरिएकाे कुरा जानकारी गराउँदछौं,' तालाबन्दी गर्नुअघि जारी गरिएकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ।

यता क्याम्पस प्रमुख डा. ओमप्रकाश आचार्यले प्राध्यापक र कर्मचारीले समसामयिक मागहरु राखी तालाबन्दी गरेकाे भएपनि आपसी छलफल र सहमतिबाट अगाडि बढ्ने बताए। 'हामीले आजै उहाँहरुसँग बसेर छलफल चलाउने तयारी गरिहेका छाैं,' उनले भने, 'जतिसक्दो चाँडाे तालाबन्दी खुलाउने काेसिस भइरहेको छ।'

प्रकाशित मिति: : 2022-05-30 12:36:00

प्रतिकृया दिनुहोस्