सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धिताल बाैद्धिक नेतामा पर्छन्। काम गर्ने तीव्र इच्छाशक्ति भएका उनी मावि द्वितीय तहकाे शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका थिए।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा थाेरै मतले पराजित भएका उनी हार यता जनताकाे माझमा संगठन निर्माणमा लागेका थिए। यसपाली नेकपा माओवादीबाट सिंजा गाउँपालिकाकाे उम्मेदवार बन्दा विजयी भए।
उनै धितालसँग बिएल नेपाली सेवाले गरेकाे छाेटाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ
निर्वाचनबाट विजयी हुनुभयो बधाई छ। तपाईंकाे सपथ पनि भइसकेको छ। सिंजा गाउँपालिकामा विकासकाे कस्ताे माेडेल लागु हुन्छ?
धन्यवाद! मैले सपथ लिएकाे छु। पदभार ग्रहण पनि गरिसकेको छु। सुरुकै दिनबाट मैले काम सुरुवात गरिसकेकाे छु। जुन तपाईंको प्रश्न छ, हामी माथिबाट तल हाेइन कि तलबाट माथि विकास जानुपर्छ भन्ने ठान्छाैं।
विकासका भागिदारसँग सुरुमा हामी साक्षात्कार गर्छाैं। यसबाट हामी आयाेजनाहरु पहिचान गर्छाैं। समस्याकाे पहिचान र त्यसमा उहाँहरुले दिएका समाधानका उपाय खाेज्छाैं। स्राेत साधन जुटाउने काम पनि उहाँहरुकै सल्लाहबाट निर्धारण गर्छाैं। व्यापक जनसहभागिताबाट काम गर्ने नै हाम्राे विकासकाे माेडेल हाे।
चुनाव प्रचारकाे बेला के-के समस्याहरु छन् भन्ने त देख्नुभयाे हाेला नै?
मजाले देखियाे।
त्यस्ता केही प्रतिनिधि समस्याहरुकाे बारेमा भनिदिनुस् न।
चुनाव प्रचारकाे क्रममा सबैभन्दा पहिला विद्यालय शिक्षाकाे समस्या देख्यौं। विद्यालय छ, कक्षाकाेठा छ, शिक्षक दरबन्दी छ, तर विद्यार्थीहरुकाे पढाइ नियमित पनि छैन र उपलब्धि स्तर पनि निकै कमजोर छ।
मैले याे चुनावकाे बेला प्रश्नहरु बनाएर विद्यार्थीलाई साेधेकाे थिएँ। ती प्रश्नलाई सय प्रतिशत मान्दा विद्यार्थीले जम्मा १८ नम्बर मात्रै हासिल गरे। याे निकै दर्दनाक स्थितिबाट हाम्रा विद्यालयहरु गुज्रिरहेका छन्। याे शिक्षाले हामीलाई कहाँ पुर्याउला ? याे चिन्ताजनक स्थिति हाे। त्यसकारण मेराे विकासकाे माेडेल भनेकै विद्यालय शिक्षालाई जरैदेखि सुधार गर्ने हाे।
मानसिक रुपमा विद्यालय सुधार गर्न अभिभावक, विद्यार्थी, शिक्षक र व्यवस्थापन समिति यी सबैलाई जिम्मेवार बनाउँछाैं। प्रधानाध्यापकले गाउँपालिकासँग विद्यालय सुधार्छाैं भनी करार गर्नुपर्नेछ भने प्रधानाध्यापकसँग शिक्षकले करा गर्नुपर्नेछ। शिक्षकले याेजना बनाई काम गर्नुपर्नेछ।
जसले विद्यालयकाे वास्तविक सिकाई उपलब्धिबारेकाे प्रभावकारिता देखिनेछ। यदि उहाँहरुले काम गर्न सक्नुभएन भने प्रधानाध्यापकले गर्न सक्नेलाई छाेड्नुपर्नेछ भने शिक्षकले आफ्नाे पेशा परिवर्तन गर्दा हुनेछ। तर उहाँहरुलाई तालिम दिने, शैक्षिक सामग्री उपलब्ध गराउने मामलामा कुनै कन्जुस्याइँ हुनेछैन।
विकासका नाममा विगतमा भएका ठगीलाई पूर्ण रुपमा बन्द गराउनेछाैं। उपभोक्ता समितिकाे नाममा भ्रष्टाचार हुन दिँदैनाैं। अनुगमनलाई प्रभावकारी बनाउँछाैं। उपभोक्ता समितिकाे विकल्पमा श्रम संगठन बनाउनेछाैं। श्रम गर्नेकाे खातामा डाइरेक्ट पैसा जम्मा हुने व्यवस्था मिलाइनेछ।
स्वास्थ्यकाे अवस्था पनि निकै दयनीय छ। गाउँका मान्छेलाई कस्ता समस्या छन्, पहिचान हुन सकेकाे छैन। त्यसैले शिविर, नियमित स्वास्थ्य जाँच, राम्राे अस्पतालमा रिफर र यहाँ उपचार नहुनेलाई गाउँपालिकाकाे बजेट हालेर पनि उपचारको व्यवस्था गरिनेछ। धामी झाँक्रीकाेमा जाने परम्परालाई निरुत्साहित गरिनेछ।
सिंजा सभ्यता र भाषा संस्कृतिकाे विकासबारे घाेषणापत्रमा उल्लेख गरेकाे कुरा व्यवहारमा देखाउन कसरी काम गर्नुहुन्छ?
हाम्रा पुर्खाले जीवन जिउनेबेला जे जति कुरा सिके, ती सबै माैलिक कुराहरु थिए। हाम्रो माैलिक परिपाटी नै हाम्राे सभ्यता हाे। जीवन जिउने तरिका र कला सभ्यता हाे। संसारका अन्य ठाउँकाे तुलनामा हाम्राे निकै भिन्न छ।
हाम्राे बस्ती विकास, घर निर्माणलगायत माैलिकपना यहाँकाे वस्तुस्थितिअनुसार थियाे। विडम्बना अहिले कंक्रिड संरचनाले हामीलाई हमला गरिरहेकाे छ।
हाम्राे लवाईखवाई फरक छ। हाम्राे भाषा माैलिक छ। तर हामी नै यसलाई छाेडिरहेका छाैं। त्यसैले यसलाई बचाइराख्न हामीले स्थानीय भाषामा पाठ्यक्रम निर्माण गर्नेदेखि लिएर अध्ययन, अनुसन्धान र त्यसकाे विश्वव्यापी प्रचार गर्नेछाैं। अभिलेखिकरण गर्नेछाैं। यिनै कुरा हाम्राे घाेषणापत्रमा उल्लेख गरिएकाे छ।
यहाँकाे भाषा संस्कृतिलाई सूचनाकाे माध्यमबाट उत्कृष्ट हाे भनी देखाइनेछ। यसलाई सूचिकृत गर्नुपर्ने ठाउँमा पनि हामी पुग्नेछाैं। यति गर्न सके घाेषणापत्रमा लेखिएकाे कुरा व्यवहारमा लागू गरेकाे मानिने छ।
सिंजालगायत समग्र जुम्लामा पाखा र जिउलाका बस्ती छन्। शासक सधैँभरी जिउलाकाहरु नै हुन्छन् र यिनले विभेद गरिरहेका छन्। तपाईं कसरी लिनुहुन्छ ?
याे सिंजा या जुम्लाको कुरा मात्र हाेइन, विश्वभरी नै यस्तै छ। विश्वमा सेटलाइट र मेट्राेपाेलिसी गरी दुईवटा छ। जहिले पनि मेट्राेपाेलिसीले सेटलाइटलाई दमन गरेकै हुन्छ। भेदभाव गरेकै हुन्छ। त्याे हामीकहाँ पनि छ।
जहाँ मान्छेकाे आवतजावत बढी हुन्छ। जहाँ अलि बढी सेवा सुविधा हुन्छ, त्यहाँका मान्छेले अलिकति टाढाका मान्छेलाई दमन गरेकै हुन्छ। समग्रमा गाउँ र शहरकाे विभेद छ नै। याे विभेद सिंजामा पनि छ। म स्वीकार गर्छु।
अब यसलाई कसरी कम गर्ने भन्ने मुख्य विषय हाे। अहिले विस्तारै लेकाली भेगका जनतामा पनि चेतना आएकाे छ। उहाँहरु सहेर बस्नुहुन्न भन्नेमा दृढ हुनुहुन्छ। अझै उहाँहरुकाे चेतना विकास गर्नुपर्ने कुरामा शिक्षा महत्वपूर्ण कुरा हाे।
शिक्षालाई हामी जाेड दिन्छाैं। सूचना र सञ्चारलाई पनि गाउँगाउँमा लैजान्छाैं। जसले जिउलाका मान्छेमाथि भर पर्नुपर्ने छैन। मुख्य कुरा विभेद कम गर्न पार्टी संगठन, जन संगठन र जनवर्गीय संगठनहरु परिचालन गरिनेछ।