रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो।
२०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन्। गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए।
नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो। उत्तरगया गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अर्चना लामालाई उम्मेदवार बनाएको थियो। तर निर्वाचनको नतिजा अनुसार दुवै जना पराजित भएसँगै जिल्लाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य भएको हो।
जिल्लाको पाँच वटै पालिकाको प्रमुखमा पुरुष नेतृत्व निर्वाचित भएका छन्। उपप्रमुखमा चार वटा गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन्।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको उपप्रमुखमा चण्डिका तामाङ, गोसाईंकुण्ड गाउँपालिकामा प्रतिमा तामाङ, कालिका गाउँपालिकामा मिरा लामा र उत्तरगया गाउँपालिकामा चमेली गुरुङले नेतृत्व पाएका छन्। गुरुङ २०७४ को निर्वाचनमा पनि उत्तरगया गाउँपालिकाको उपप्रमुखको नेतृत्व पाएकी थिइन्। उनी पुनः दोहोरिएकी हुन्।