कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन्।
यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ।पालिकाकाे आन्तरिक आम्दानी दुई करोड पनि छैन।
संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो। यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए। उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए।
‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन्। धेरै श्रोत चलाउन सकेका छैनौं,’ उनले भने, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर्याउँछौं। त्यसका लागि होमवर्क सुरु भैसकेको छ।’
उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए।