पोखराको मेयरमा एकिकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। आचार्य ६ हजार ४५ मतान्नतर सहित महानगर प्रमुखमा विजयी भएका हुन्।
कुल खसेको १ लाख ४३ हजार २ सय २८ मतमध्ये आचार्यले ५८ हजार ८९३ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण थापाले ५२ हजार ८४८ मत ल्याए।
गठबन्धनबाट उम्मेद्वार बनेका आचार्य पाेखराका १५औँ मेयर हुन्।
उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ दाेहाेरिएकी छिन् । २०७४ सालकाे चुनावमा उपमेयर बनेकी गुरुङ दाेस्राे कार्यकालका लागि उपमेयर बनेकी हुन्। उनले निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई तीन हजार ८८३ मत अन्तरले पछि पारिन्। मञ्जुले ६० हजार ५४६ मत पाउँदा रानाभाटले ५६ हजार ६६३ मत पाइन्।
०१६ सालमा नगर पन्चायतको रूपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन्। २०१६ देखि ०१८ सम्म पहिलो मेयरका रूपमा शिवबहादुर थापाले काम गरे। २०१९ देखि ०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने। २०२८ देखि २०३१ सम्म रूद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने।
२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरूङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रूपमा काम गरे। २०४९ पछि भने स्थानीय निकायको रूपमा निर्वाचन भयो। पहिलो मेयरको रूपमा कांग्रेसका भोला थापा निर्वाचित भए। २०५४ मा अहिलेका एमाले उम्मेद्वार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन्। त्यसपछि २०६० सालमा हर्कबहादुर गुरूङलाई राजाले मेयरमा नियुक्त गरे। २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे। भीमसेन थापा राप्रपाबाट मेयर बने।
नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो।
एमालेका मानबहादुर जिसी १४औँ मेयरका रूपमा निर्वाचित भएका थिए। उनको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रूपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन्।
पोखराको मेयरमा २३ जनाको प्रतिश्पर्धा थियो।