मोहनमाया भण्डारी : वीरेन्द्रनगरका जनतामाझ उचो छवि बनाएकी कर्णालीकी एक्ली महिला मेयर

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भएकी छन्। २०७४ को स्थानीय तहबाट उपमेयर जितेकी उनी यसपाली मेयर बनेकी हुन्।

नेपाली कांग्रेस र माओवादी सम्मिलित गठबन्धनलाई हराउँदै नेकपा एमालेकै भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका छन्।

भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४ मत ल्याएका छन्।

उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन्।

उपमेयर भएर पाँच वर्ष कार्यकाल सफल पारेकी उनलाई जनताले औधी रुचाएका थिए। अधिकांश पालिकामा मेयर र उपमेयर एउटै पार्टीका हुँदा पनि विवाद भएका कयौं घटनाहरु छन्। तर, वीरेन्द्रनगरमा मेयर कांग्रेसका भइकन पनि मिलेर काम गरेको हुनाले जनतामाझ उनको छवि उचो छ।

यति बुझेको एमालेले उनलाई अहिलेको स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार बनायो। नभन्दै जनताले उनलाई रुचाइदिए।

मेयरमा निर्वाचित भण्डारीले आफू उपमेयर हुँदा सुरू गरेका कामहरुलाई अब पुरा गर्ने बताएकी छन्। उनले भनिन्, ‘म उपमेयर हुँदा सुरु गरेका कतिपय काम अब पुरा हुनेछन्। आगामी दिनमा जनताको थप साथ सहयोग पाउनेमा विश्वास छ।’

यो पटक कर्णालीको पहिलो महिला मेयर हुने अवसर उनले पाइन्। यसमा पार्टीले महिलाको कदर गरेको उनको बुझाई छ।

‘पार्टीले विश्वास गरेर मलाई मेयरको टिकट दियो। यो विश्वासलाई नगरबासीले अनुमोदन गरिदिनुभयो,’ उनले भनिन्, ‘यसलाई कुनै पनि हालतमा कमी हुन दिने छैन।’

अब उनी कर्णालीको एकमात्र महिला मेयर हुन् र उनको कार्यशैली अब्बल हुनेमा नगरबासी विश्वस्त छन्। किनभने, अघिल्लो कार्यकालमा उनले व्यक्तिगत स्वार्थको लागि कुनै पनि काम गरिनन्। भागबन्डाको लोभमा लालसा देखाइनन्।

२०७४ को निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकामा विजयी कान्तिका सेजुवाल एक मात्र महिला मेयर बनेकी थिइन्। हाल आएर भण्डारी एकमात्र महिला मेयर बनेकी छन्। जनताले दोहोरिएका जनप्रतिनिधि नरुचाएको बेला उनी अपवाद बनेकी छिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा उपमेयर भण्डारीले जितेकी थिइन्। नेपाली कांग्रेसबाट मेयर जितेका देवकुमार सुवेदीसँग हातेमालो गरेर अगाडि बढिन्।

त्यसबेला भण्डारीले १६ हजार ६८ मत ल्याएर जित्दा प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत ल्याएकी थिइन् भने माओवादीकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत ल्याएकी थिइन्।

२०५५ सालबाट विद्यार्थी राजनीति सुरू गरेकी भण्डारी २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतको सहसचिव भइन्।

अखिल नेपाल महिला संघको जिल्ला हुँदै प्रदेश तहसम्म काम गरेकी उनी हाल एमालेको केन्द्रीय सदस्य छन् भने अखिल नेपाल महिला संघको सचिवालय सदस्य पनि हुन्।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी उनी कानुनमा स्नातक गरेकी छन्। त्यसैले पनि उनले नगरपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी ढंगबाट निर्वाह गरिन्।

प्रकाशित मिति: : 2022-05-20 14:28:00

प्रतिकृया दिनुहोस्