भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १४५ मतले अग्रता लिएकी छन्।
महानगरपालिकामा ४१ हजार ६११ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन्।
दाहालले १५ हजार ७४६ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ६०१ मत प्राप्त गरेका हुन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार २५५ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १० हजार १२६ मत प्राप्त गरेकी छन्।
भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन्।
वडा नं ९ र १० को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।