यी भाग्यमानी उम्मेदवार, जसले मात्रै १ मतका कारण चुनाव जिते

File Photo
File Photo

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन्।

त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन्। यी त्यस्ता १० भाग्यमानी उम्मेदवार, जसले मात्रै १ मतका कारण चुनाव जितेका छन्।

यसैमध्येका एक उम्मेदवार हुन्, कृष्णकुमारी कडरिया। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन्।

उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २ हजार ३ सय ७५ मत पाएका छन्।

यसैगरी काभ्रेमा ३ स्थानीय तहका ३ वडामा एक-एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन्। तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन्। उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर पराजित भएका छन्।

काभ्रेकै खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भए। उनले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आसाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भए।

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका सुशिल लामा पनि १ मतले विजयी भए। उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भए।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका-६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन्। अर्याल ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भए।

त्यसैगरी पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन्। उनले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत पाएर पराजित भएका छन्।

गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले वडाध्यक्षमा विजयी भएका छन्। उनले ७ सय ५६ मत पाउँदा माओवादी-एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपाने ७ सय ५५ मत ल्याएर पराजित भए।

यता, महोत्तरीको महोत्तरी गाउँपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए। उनले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भए।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिका-१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भएका छन्। महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भरत हमाल ५ सय सात मत ल्याएर पराजित भए।

महोत्तरीको बर्दिवास-७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन्। उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरी ७ सय २६ मत ल्याएर पराजित भएका छन्।

प्रकाशित मिति: : 2022-05-19 12:22:00

प्रतिकृया दिनुहोस्