काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो?

file photo
file photo

काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले 'जादू' चलाइरहेका छन्।

चुनाव चिह्न लोरौ रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने अड्कल काटिएका अर्का उम्मेदवार भने निकै पछि परेका छन्। 

पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका गनेस पौडेल अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन्।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई निकै पछि पारेका छन्।

४७ हजार ४ मत गणना हुँदा साहले १८ हजार २३७ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन्।

तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन्।

बालेनले दोस्रो स्थानका स्थापितसँग ८ हजार ७२० मतान्तर कायम राखेका छन्।

त्यस्तै धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लौरो चुनाव चिह्नबाट गठबन्धनका उम्मेदवारलाई जितेका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उनले झिनो मत अन्तरसहित अग्रता बनाइरहेका हुन्। 

साम्पाङले ८१४० मत ल्याएका छन् भने राईले ८१२६ मत गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ने ६७१३ मतसहित पछि परेकी छिन्। तर पोखरा महानगरमा भने गनेशको मत कमजोर देखिएको छ। 

अहिलेसम्म  ४१,४२३ मत गणना हुँदा लौरो चुनाव चिह्न रहेका गनेसले १ हजार मत कटाउन सकेका छैनन्।  उनले ९२९ मत पाएका छन्। उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पछि रहेका छन्र। खरालले १,६९८ मत पाएका छन्।  

पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७,२४२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५,२१० मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १७,४४३ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १७,३४१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १,४३,२२६ मत खसेको थियो।


 

प्रकाशित मिति: : 2022-05-18 19:30:00

प्रतिकृया दिनुहोस्