कांग्रेस सभापतिलाई हराउँदै छत्रेश्वरीमा विजयी बने एमालेका ओजबहादुर

सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)ले जितेको छ।

अध्यक्षमा एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले ३८९२ मत ल्याएर विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका केशबहादुर विष्टले २६२३ मत ल्याए भने माओवादीका प्रेम खड्काले २५०९ मत ल्याएका छन्।

राप्रपाका मोतिलाल ओलीले २८७ र स्वतन्त्र उम्मेदवार लोक्पाल केसीले २८४ मत ल्याएका छन्।

कांग्रेसका जिल्ला सभापति समेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोपूर्ण पालिकाको रुपमा हेरिएको थियो। विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुख समेत हुन्।

जिल्ला समन्वय समितिको प्रमुखबाट राजिनामा दिएर गाउँपालिका लडेका विष्ट गाउँपालिका अध्यक्षमा पराजित भए भने उनकै वडामा पनि कांग्रेसले जित्न सकेन।

त्यसैगरी, उपाध्यक्षमा पनि एमालेकी बुद्धा केसी ३३८२ मत ल्याएर विजय भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३०४६ र एकीकृत समाजवादीका राज बहादुर बुढाथोकीले १९८८ मत ल्याएका छन्।

राप्रपाकी सिला बुढाथोकीले ४४० र स्वतन्त्र उम्मेदवार हिरा बुढाले १०३ मत ल्याएकी छन्।

प्रकाशित मिति: : 2022-05-18 06:27:00

प्रतिकृया दिनुहोस्