एउटा पराजित ‘विजय’

Breaknlinks
Breaknlinks

चुनावको माहोल। गाउँ, शहर जताततै भोज–भतेर। फूलमाला र सप्तरंगी अबिरले सजिएका–‘विजयी उम्मेदवार’। भोटले जित्नेहरूको रूपै रंगीन। ‘जीतबहादुर’हरूलाई झ्याम्म–झ्याम्म बाजा बजाउँदै ‘भ्रष्टाचारी अड्डा’ तिर भित्र्याइरहेका कार्यकर्ता, समर्थक र कर्मचारी। फेरि भनौँ– माहोल चिन्तायोग्य र रोमाञ्चित छ।

यस्तो लाग्छ– काल निम्त्यिाइरहेका छौँ। आफैँमाथि भारी थपिरहेका छौँ। शासकलाई शक्तिशाली बनाइरहेका छौँ। महाराज मान्न तम्सिरहेका छौँ। थप मासु, भात र रक्सी मागिरहेका छौँ। जतिसक्छस् ‘भ्रष्टाचार गर’ भनिरहेका छौँ। खैर, जितमा बधाई थाप्नु, खुशी साटासाट गर्नु राम्रो हो। तर संस्कारै बिर्सिएर थलै पर्नेगरी उफ्रिनु चाहिँ ज्यादै नराम्रो।

‘विजयी’का थुप्रै कथा–कहानी पढियो। राजीतिक जीवनी नै सुनियो। को हुन्, उनी? कसरी उदाए ‘फलानो’ राजनीतिमा? जितभित्र यस्तो छ, रोचक दृश्य! यस्ता वाक्य कति पढियो–पढियो।

मैदानमा उत्रिएका सबै खेलाडीको जित कहाँ हुन्छ र? एउटाले जित्छ, अर्काे हार्छ। कहिलेकाहीँ जित्नेको चर्चा हुँदैन, हार्नेको हुन्छ। किनकि, ऊ हारेपछि पनि चर्चा–योग्य मानिन्छ।

०००

‘विजयी’ पात्र लोकप्रिय तर हार्ने (अ)लोकप्रिय पटक्कै होइन। मत खसाल्नुअघिको दृश्य– मतदाता नाफाको दौडमा हुन्छन्। चाहे त्यो दीगो विकास होस् या मासु, रक्सी र साडी। उनीहरू नगन्य कुरामा लोभिन्छन्। उम्मेदवारको गुलियो गफमा छिट्टै भुल्छन्। स–सानो वस्तुभाउमा बिक्छन्। अपवादबाहेक भोट किन्न नसक्ने कमै उम्मेदवारले चुनाव जितेका छन्। तर यो यस्तो दुनियाँ हो, जसको क्षमता कहिल्यै अन्त्य हुँदैन। जित् होस् या हार।

‘विजयी’ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको चर्चा सुनेरै दिक्क लाग्यो। अब ‘विजयी’ हुन नसकेका विजयको कुरा गरौँ। नाम– विजय। स्थान– रोल्पाको माडी। उम्मेदवार– अध्यक्ष पदमा। प्राप्त गरेको मत– ३३८१। अन्तिम नतिजा पराजय। बधाई पात्रको मत– ३८३०।

०००

निर्वाचन अधिकृतको कार्यालयले सोमबार दिउँसोतिर अन्तिम परिणाम सार्वजनिक गरेपछि विजयकुमार घर्तीमगरले मज्जैले चुनाव हारे। लगतै आफ्ना सदाबहार मित्र तथा स्थानीय निर्वाचनका एकमात्र प्रतिस्पर्धी अमरसिंह घर्तीमगर खोज्दै मतगणनास्थल पुगे, उनी।

त्यहाँ पुगेर तनक्क हात तन्काए। बधाई तथा शुभकामना दिए। झ्याप्प अंगालो मारे। माया साटासाट गरे। फोटो खिचे। ‘माडीवासीको पक्षमा राम्रो काम गर्नु’ भन्दै फेरि बधाई थमाए। अनि आफ्नो बाटो लागे।

उनी अर्थात् विजय चुनावपछि अलिकति पनि थाकेका छैनन्। डराएका छैनन्, तर्सिएका छैनन्। बरू उत्साहित छन्। सत्यनिष्ठापूर्वक माडीको उकालो यात्रामा हिँडिरहेका उनी कालजयी छन्। कारण– सानदार मत प्राप्त गरे। संघर्षको बाटोमा जे भोग्छन्, त्यही सत्य ठान्छन्। ‘हारले नै निकाल्छ, जितको अर्को फराकिलो राजमार्ग,’ उनी भन्छन्, ‘संसारमा नहारेको को छ र! अनि जितमा के छ, हारमा त्यस्तो के छैन? बुझ्न जाने दुबैमा खुशी छ, उतिकै कर्कस पनि।’

उनी पैसाकै पछि कुदेनन्। पदकै पछि दौडिएनन्। भ्रष्टसँग संगत गरेनन्। बरू विस्तारै हिँडे। एक्लै हिँडे। जनतासँग हिँडिरहे, दौडिनबाट रोकिए। आजपनि गाउँ–समाजको सेवामै छन्। भुइँ तहमा छन्। चिल्लो–घुम्ने कुर्सीमा छैनन्। मानव सेवामा छन्। दुःख, सुखमा छन्। माडीका असली जनप्रतिनिधि हुन्, विजय।

०००

जित्नु औपचारिकता मात्रै हो। सबैभन्दा ठूलो कुरा राजनीतिमार्फत् माडी गाउँको समाजसेवामा भिज्नु ठान्छन्। विडम्बना जो जनतासामु माझिएको छ, ऊ जित्दैन। हुनत जतिसुकै प्रतिभाशाली खेलाडी भएपनि मैदान पसेपछि जितको ग्यारेन्टी दिन सक्दैन। हो, त्यसैगरी विजयले पनि माडी गाउँपालिकामा जित्न सकेनन्। तर पाउनुपर्ने मत पाए। चानचुन साढे ४ सय मत थप्न सकेनन्। अन्ततः पराजय भोगे।

उनलाई हराउन को–को सम्म लागेनन्। पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वमन्त्री वर्षमान पुन, सांसद दिपेन्द्र पुन। हराउन लाग्यो माडी सरकार, प्रदेश सरकार। बाँकी कुरा नगरौँ, हारेपनि आरोप थुपारेजस्तै देखिन्छ। आफैँ बुझ्नुहोस्, चुनाव जित्न के–के सम्म गर्छन्, त्यही–त्यही गरे।

राजनीतिक मैदानका भद्र खेलाडी ‘विजयी बिनाका विजय’ले पूर्ण जिम्मेवारीका लागि माओवादी केन्द्रको ‘होम ग्राउन्ड’मा सानदार प्रदर्शन गरे। पहिलोपटक भोट माग्दै हिँडे। मतदाताको मन जिते। कमजोर संगठन हुँदाहुँदै अपार माया पाए। सोचेभन्दा राम्रो जनमत पाउँदा हारको अनुभूति क्षणभरमै हराएको बताउँछन्, उनी।

नेकपा (एमाले)को कमजोर भूगोलमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। मत एमाले कार्यकर्ताले मात्रै दिएनन्, कांग्रेसले दिए। नेकपा–विप्लवले दिए। माओवादीले पनि दिए। कुना–कुनाका मतदाताले दिए। माडीवासीको त्यही मत हाे, जसले हार्दा पनि हजारौँ शब्दका पात्र बनिरहेका छन्– विजय।

०००

विजय घर्तीगाउँ क्षेत्रमा सबैलाई मनपर्ने व्यक्ति हुन्। चुनावमा अरू कसैले जित्यो, त्यो कुनै आश्चर्यको कुरा होइन। किनकि, उनी त्यहाँबाट हराउँदैनन्, भाग्दैनन्। न भ्रष्टाचारमा डुब्छन्। सरल छन्, समाजसेवामै रहन्छन्।

मैदानमा उत्रिनुको मुख्य उद्देश्य जित्नु नै हो। तर कसै न कसैले हार्नैपर्छ। माडी गाउँपालिकामा विजयले पनि हारे। खेलकुद र जीवनको लक्ष्य उस्तै–उस्तै मानिन्छ। जित्नका लागि संघर्षको सामना गर्नुपर्छ। तर सधैं जितै हात पार्नुपर्छ भन्ने पनि छैन, त्यसैले योपालि अरूलाई जिताउन आफू हारिदिए।

हारमा पनि जित हुन्छ भन्ने कुरा सधैं मनमा राखेको बताउँछन्, विजय। आगामी दिनमा आफ्नो प्रतिद्वन्द्वी र परिस्थितिलाई वास्तै नगरी उत्कृष्ट काम गर्नुपर्ने उनको भनाइ छ। हरेक पल आफ्नै चुनौतीसँग माडीका जनताको सेवामा आफ्नो शतप्रतिशत योगदान दिन तयार छन्, विजय।

लगातार राम्रो खेल्नु हरेक खेलाडी र चुनावमा सानदार मत ल्याउनु उम्मेदवारको धर्म हो। चाहे त्यो खेल मैदान होस् या चुवानी मैदान। आखिर मैदान त मैदान नै हो।

०००

उनी मरिमेटी निर्वाचन जित्नकै लागि मैदानमा छिरेका होइनन्। लोकतान्तिक आचरण बिर्सिएनन्। सु–संस्कृत राजनीतिको संस्कार भुलेनन्। मित्रप्रति कहिल्यै मन दुख्ने रबैया गरेनन्। बरू उल्टै सम्मान गरे। अरूका टिप्पणी सुने। अनि घरदैलोमा पुगे। यो उनको निर्दोष स्वभाव पनि हो। हुनत कतिपय यही स्वभावलाई कमजोर ठान्छन्। तर उनी यस्तै छन्। यस्तै रहन्छन्।

भोट खसाल्ने मिति नजिकिँदा कतिपय उम्मेदवार पैसा बाँड्छन्। घर–घरमा साडी पुर्याउँछन्। मुख–मुखमा मासु, भात र रक्सी। फरर...झण्डासहित निकै तामझम गर्छन्। कतैकतै गरेपनि तर पराजित विजय सबै अस्त्रबाट ढाटा रहे। निकै पर रोकिए। मानौँ कि यो घिनलाग्दो माहोलमा चुनाव जित्न चाहेनन्, जस्तो। पैसै–पैसाले जितिरहेको स्थानीय चुनावमा निष्ठा र आफ्नो वास्तविक स्वभाव परिवर्तन गरेनन्। लडे। सानदार ढंगले हारे। खर्चिलो उम्मेदवार बनेनन्। ‘मत–माया’ देखेपछि पराजित भएको आभास नै गरेनन्।

परिस्थिति जस्तो सुकै होस्, काँडाले पनि कोपिला चुम्छ। हारले हरपल कठिनाइसँग जुध्न सिकाउँछ। उम्मेदवार जति सबैले जित्न चाहन्छन्। तर सबैले जित्दैनन्। कहिलेकाहीँ जित्नैपर्ने पात्र पनि हारिदिन्छन्। हुनत हारको पछाडि जितको ठूलो रहस्य लुकेको छ। उनी हारमा आत्तिएका छैनन्। आफ्नै कर्ममा तल्लीन छन्।

‘माडीवासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीबाट अमूल्य भोट प्राप्त गरेँ। उहाँप्रति उच्च सम्मान व्यक्त छ। मलाई भोट नदिए सहयोग गर्नुहुने मित्रप्रति पनि आभार छ’, विजय थप्छन्, ‘चुनाव हो हारजित भइहाल्छ। यसमा कुनै गुनासो छैन। बरू मतदाताप्रति ऋणी छौँ। भुल्ने छैनौँ।’

राजनीतिक उचाइ रहरलाग्दो बन्यो। हर मतदाताको विश्वास थपियो। गाउँ–गाउँमा हजारौँ समर्थक, प्रशंसक छन्। राजनीतिक वातावरण भएको परिवारमा जन्मिए। बाजे, बुबा र दाइबाट राजनीति संस्कार सिके। राजनीतिको नशा चढ्यो। आफैँ मैदानमा ओर्लिए।

उनी इमानदारीपूर्वक भन्छन्, ‘एउटा चुनाव हारेँ। यसले जीवनमा अनेकौँ कठिनाइसँग लड्न मद्दत गर्नेछ। जित्नेगरी भोट नदिए पनि अमूल्य मन दिनुभएकोमा हार्दिक सम्मान छ।’

सुख–दुःख, आशा–निराशा र जित–हारका अनेक रंगहरू छन्, उनीसँग। नैराश्य र उदासीनताले घेरिएका छैनन्। तीव्र इच्छाशक्ति छ। सधैं माडीका जनताको भविष्यलाई दीर्घ रूपमा हेर्छन्। ‘कमरेडहरू हो! त्यसैले हारसँग नडराऊ। हामीहरू विविधताले भरिपूर्ण छौँ,’ उनी भन्छन्।

मतले हार्ने तर मनले जित्नेहरू आशावादी र मेहनती हुन्छन्। तिनीहरू सधैं जित्छन्। भनिन्छ– इतिहास जित्नेकै हुन्छ। तर कहिलेकाहीँ चुनावी मैदानमा यस्ता पात्र खडा भैदिन्छन्, हारेपनि चर्चामै हुन्छन्। जनतासँगै हुन्छन्। किनबेचको होइन, विचारको राजनीति गर्छन्। पदीय लोभ राख्दैनन्, उनी अर्थात् घर्तीगाउँका सदाबहार ‘विजयी’ विजय...। भव्य शुभकामना छ। यस्ता पनि उम्मेदवार रहेछन् भन्ने हाेस्। यसैगरी सधैं–सधैं चर्चा गर्न पाइयोस्।

प्रकाशित मिति: : 2022-05-21 05:25:00

प्रतिकृया दिनुहोस्