बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए।
पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाएका थिए।
थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाएका थिए।
सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ। पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए।
जानकी र बैजानाथमा मतगणाना रोकियो
बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ। जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो।
सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिए। त्यस्तै वैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए।