खोटाङमा विभिन्न दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार विजयी भएका छन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
खोटेहाङमा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका हुन्।
२०७४ सालको स्थानीय निर्वाचनमा एमाले विजयी भएको सो गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार कविता राई र उपाध्यक्षका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन्।
उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए। विजयी रुपेशले ३७६३ र राजनले ३३१० मत पाएका छन्। भट्टराईको गृहवडा खोटाङ बजारमा भने एमालेका शिवप्रसाद फुयाल विजयी भएका छन्।
यस्तै, कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा कांग्रेसकै उम्मेदवार पराजित भएका छन्। कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई अध्यक्षमा विजयी भएका हुन्।
लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन्। उपाध्यक्षमा पनि एमालेकै अरुणा थापा मगर २७३३ मत पाएर विजयी बनेकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कट्वालले २३१२ मत पाएका छन्। सो पालिकामा २०७४ को निर्वाचनमा भुपेन्द्र अध्यक्षमा विजयी भएका थिए।
माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुनकुमार खड्का पराजित भएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई विजयी हुँदा खड्का भने कांग्रेसका रविप्रकाश राईभन्दा पछि परेका हुन्। रविप्रकाशले १८५० मत ल्याउँदा खड्काले १७७२ मत पाएका छन्। खड्का निवर्तमान अध्यक्ष पनि हुन्।
यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन्। उनको गृहवडा रतन्छामा एमालेका जितेन्द्रकुमार राईसँग माओवादी केन्द्रका गौतम राई पछि पारिएका छन्।
एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेससँग एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन्।
नेकपा (एस)का माईतीराज राईलाई पछि पार्दै कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएका हुन्। समिरले २२४४ मत पाउँदा माइतीराजले १८०८ मत पाए।
उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन्। उनले १९८३ मत प्राप्त गरेका छन्।
उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेकी मैया सुनुवारले १७६१ मत पाएका छन्। राईको गृहवडा बासपानीमा भने नेकपा (एस)का तुलाराम राई विजयी भएका छन्।
एमाले नेतृ एवं प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा एमाले पराजित भएकाे छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा एमालेका डिल्लीकुमार राईलाई माओवादी केन्द्रका खगेन्द्र राईले हराएका छन्। डिल्लीकुमार निवर्तनमा वडाध्यक्ष हुन्।
कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन्।
बस्नेतले ३९५ मत पाउँदा कांग्रेसका महेन्द्र राईले २५५ र माओवादी केन्द्रका उम्मेदवार अजम्बर राईले २७८ मत पाएका छन्।