तत्कालीन ओली सरकारका चर्चित मन्त्रीको जिल्लामा गठबन्धन अघि, एमाले पछि

Breaknlinks
Breaknlinks

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चर्चित मन्त्री थिए, वसन्तकुमार नेम्बाङ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चामा आएका उनै नेम्बाङको गृह जिल्ला पाँचथरको सबै स्थानीय तहमा भने एमाले उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका छन्।

फिदिम नगरपालिकासँगै मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ, हिलिहाङ र याङ्वरक गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।

समाचार तयार पार्दासम्मको विवरणअनुसार फिदिममा गठबन्धनको प्रमुख पदका कांग्रेस उम्मेदवार मित्रप्रसाद काफ्ले (४६९४ मत) र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने (४०६२ मत) को अग्रता कायम छ।

प्रमुख पदमा एमालेका पृथ्वी लावती (३९७९ मत) र उपप्रमुख पदमा राप्रपाका जगत थापा मगरले (२८७० मत) सहित पछ्याइरहेका हुन्।

मिक्लाजुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार अमरराज माखिम (२३९४ मत) र उपप्रमुखमा कांग्रेसका सन्तोषकुमार सेर्मा (२६९२ मत) सहित अघि छन्।

अध्यक्ष पदका प्रतिद्वन्द्वी एमालेका नरेन्द्र बस्‍नेत (२२७७ मत) र उपाध्यक्ष पदमा एमालेकै धनकुमारी मगर (१३७८ मत)ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्यारहेका छन्।

याङ्वरक गाउँपालिकामा भने पछिल्लो पटक फेरि गठबन्धनै उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्ष पदम अग्रता लिएका हुन्।

अध्यक्षमा कांग्रेसका मबिन्द्र योङया (१३९३ मत) र उपाध्यक्षमा माओवादीका अर्जुन बेघा (१२९० मत) ले एमालेका भीमबहादुर योङया (११४४ मत) र बाबा मेन्याङ्बो (१०७० मत) लाई पछि पारेका छन्।

फाल्गुनन्दको अध्यक्षमा कांग्रेसका बृजहाङ आङ्देम्बे, (३९९३ मत) र उपाध्यक्षमा माओवादीका ठाकुरसिंह नेम्बाङ (३६७१ मत) को भन्दा अध्यक्षमा एमालेका वीरबहादुर कुरुम्बाङ (३०१६ मत) र उपाध्यक्षमा जनता समाजवादी पार्टीकी बबिता नेम्बाङ (२९४९ मत) पछि छन्।

फालेलुङ गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका वीरविक्रम थाम्सुहाङ (३८०८ मत) र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र जबेगू ‘फुङ्निमा’ (३६१७ मत) अघि छन्।

उक्त पालिकामा एमालेको अध्यक्षमा जयप्रकाश केरुङ (१८६८ मत) र उपाध्यक्षमा सुजाता वान्तावा (१९६० मत) ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका हुन्।

तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका बाबुराम खड्का (१६९५ मत) र एमालेका गोविन्दबहादुर तामाङ (१५२८ मत) भन्दा अगाडि छन्।

उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्बाहाम्फेको १८३३ मतसहित अग्रता कायम छ।  उनलाई एमालेकी नन्दादेवी विश्‍वकर्माले १२४५ मतसहित पछ्यारहेकी छिन्।

यस्तै, हिलिहाङ गाउँपालिकामा पनि कांग्रेसका समरबहादुर अधिकारीको अग्रता कायमै छ। उनले समाचार तयार पार्दासम्म तीन हजार ७५५ मत र प्रतिस्पर्धी भुवानीप्रसाद लिङ्देनले तीन हजार ३७१ मत पाएका छन्।

उपाध्यक्ष पदमा तीन हजार ३९८ मत पाएका नेकपा एकीकृत समाजवादीका भवानी लिङ्देनलाई एमालेकी सुमित्रा सेढाइले तीन हजार २२९ मतसहित पछ्याइरहेकी छिन्।

जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका बमप्रसाद लावती निर्वाचित भएका छन्। उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएको छ।

यसअघि याङ्वरक, हिलिहाङ र कुम्मायक गाउँपालिका एमालेले जितेको थियो। २०७६ को मंसिर १४ मा उपनिर्वाचन हुँदा पहिले कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिकामा पनि एमालेले जितेको थियो।

कांग्रेसले फिदिम, फालेलुङ र तुम्बेवा गाउँपालिका जित्दा माओवादीले मिक्लाजुङ जितेकाे थियाे।

तर, गठबन्धन भएपछि भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाँचथरको स्थानीय तहमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने संकेत देखाएका छन्।

प्रकाशित मिति: : 2022-05-16 12:34:00

प्रतिकृया दिनुहोस्