कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिएका छन्।
पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाएका छन्।
उनलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याएका निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिए।
नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाएका छन्। थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए। नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का राजु फुयाँलले २६८ मत पाएका छन्।
यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गरेको हो। उनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागार्इँले एक हजार ७८८ मत पाएका छन्।
समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहेका छन्। नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाएका छन्।
वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी
नगरपालिकाको ९ नं। वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी भएका हुन्। उनले एक हजार ५०२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ।
वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसकेका छन्। उनले एक हजार ७०७ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाएका निर्वाचन कार्यालय जनाएको छ।
अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ।
नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन्। जसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो। सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो। कांग्रेसले तीन वटा वडामा जितेको थियो।