६ वटै महानगरपालिकामा एमाले पछाडि

file photo
file photo

देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन्।

हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये दुई वटामा नेपाली कांग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ८२० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत पाएका छन्।

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्। उनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्। ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन्।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन्। उनले हालसम्म १ हजार १२१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन्।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्। उनले हालसम्म १ हजार ७२७ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६४७ मत प्राप्त गरेका छन्।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ५८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६१५ मत ल्याएका छन्।

विरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन्। उनले हालसम्म १ हजार ८१० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन्।

प्रारम्भीक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

प्रकाशित मिति: : 2022-05-15 15:32:00

प्रतिकृया दिनुहोस्