नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रौतहटको मौलापुर नगरपालिकामा मतगणना सुरु गर्न माग गरेको छ।
सत्तारुढ गठबन्धनले मतगणना गर्नमा बहानाबाजी गरेपछि एमाले मौलापुर नगरकमिटीले छिटोभन्दा छिटो मतगणना सुरु गर्न माग गरेको हो।
निर्वाचन आयोगले यस अघि नै मौलापुर नगरपालिकाको मतगणना नगरपालिका भवनमा गर्ने निर्णय गरेको थियो। सो निर्णय सत्तारुढ गठबन्धनकै दबाबमा भएको थियो।
तर मतदान सम्पन्न भएर मतपेटिका मौलापुर नगरपालिकामा आइसकेको भएपनि अहिले सम्म गणना सुरु हुन सकेको छैन। सत्तारुढ गठबन्धनले मौलापुर नगरपालिकाको पथरास्थित विद्यालयमा गर्नुपर्ने अडान लिएर मतगणनामा सहभागि भईरहेको छैन।
एमाले मौलापुर नगरकमिटीका अध्यक्ष नागेन्द्र साहले मतदान सम्पन्न भईसकेको अवस्थामा स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा मतगणना कार्य अगाडी बढाउनुपर्ने माग गरेका छन्।
आफू हार्न थालेको संकेत पाएर सत्तारुढ गठबन्धनका नेताले मतगणना कार्यलाई अगाडी बढाउन नचाहेको आरोप साहको रहेको छ।
‘सत्ता गठबन्धनकै दलहरुको ईशारामा निर्वाचन आयोगले मौलापुरको मतगणना स्थल तोकेको थियो। आज तिनै गठबन्धनका नेताहरुले मतगणना स्थलकै नाममा बखेडा झिखेर मौलापुरको मतगणना रोकेको छ। हार्ने डरले जे पनि हद पार गर्नेले किन राजनीति गर्नु ? बरु सन्यास लिएर जोगी बनेर बस्दा राम्रो। मौलापुरको मतगणना तत्काल सुरु गर्नुपर्छ, कुनै षड्यन्त्र सफल हुन सक्दैन’ ,एमाले नगरकमिटीका अध्यक्ष साहले भने।
एमालेले यस अघि नै सत्तारुढ गठबन्धनको इशारामा रौतहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएको थियो। यसअघि देखी नै एमालेले पटक पटक रौतहको निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा गर्नुपर्ने माग गर्दै आएको छ।
‘एकातिर कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले रौतहटको प्रायजसो स्थानमा आफैं धाँधली गरेर चुनाव निष्पक्ष हुन दिएन अर्को तिर आफैले गरेका कर्तुतको नाममा बखेडा गरिरहेको छ’ एमालेले भनेको छ।
एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह अमरले सत्तारुढ पाँच दलीय गठबन्धनसंग मिलेर सरकारले स्थानीय तहको निर्वाचनलाई प्रभावित गर्न खोजेको आरोप निर्वाचन हुनुभन्दा एक हप्ता अघि नै लगाउँदै आपत्ति जनाएका थिए।