दाङमा तीन पार्टीले खाता खोलेका छन्। एक-एक वडामा जित निकाल्दै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लामा खाता खोलेका हुन्।
नेपाली कांग्रेसले दंगीशरण गाउँपालिका वडा नं-१, एमालेले गढवाको ८ र माओवादीले राप्तीको ९ मा जित निकालेका हुन्।
जसअनुसार दंगीशरण गाँउपालिकामा कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार रमेश भण्डारीसहित उनको पूरै प्यानल विजयी भएको छ।
भण्डारीले ६ सय ४४ मत ल्यायर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याएका हुन्। भण्डारीले ९१ मतको अन्तरले जितेका हुन्।
कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार विजयी भएका छन्।
पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेवाट वडा अध्यक्षमा बिजयी भएका थिए।
यस्तै माओवादीबाट उम्मेदवार बनेका रिमबहादुर सुनारी मगर राप्ती गाउँपालिका वडा–९ मा विजयी भएका छन्। वडामा खसेको कुल ७१४ मतमध्ये मगरले ३७६ प्राप्त गरि विजयी भएका हुन्।
महिला सदस्य अमिना खातुन ३६९, दलित महिला सदस्य तारा विक ३६६, खुला सदस्यहरुमा दधी बहादुर बरालमगर ३४२ र अलि मोहमदले ३४७ मत प्राप्त गरी निर्वाचित भएका छन्।
यस वडामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाकाबीचमा चुनावी तालमेल भएको थियो। वडा नं ९ मा कांग्रेस तर्फका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन्।
यस्तैगरी गढवा गाउँपालिका वडा नम्वर ८ मा एमालेका उमेदवारहरु विजयी भएका छन्।
वडा अध्यक्षमा खालिक सिद्धिकी निर्वाचित भएका छन्। उनीसहित पूरै प्यानल विजयी भएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए।
यस वडाको मत परिणाम भने सार्वजनिक गर्न बाँकी नै छ।