स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
अहिले अपराह्न २ बजेसम्म ९५ प्रतिशत मतदान भएको उनले जानकारी दिए। उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो।
कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ।
'दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ', उनले भने।
शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन्।