रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन।
जिल्लाको अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका २ नम्बर वडाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रबाट भने अझै मतदान सुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार पेल्मामा २९ गते बिहिबार साझ नेकपा मोओवादी केन्द्र र नेपाली कांग्रेस बिचमा झडप भएको थियो। झडपपछि नेपाली कांग्रेसले आफ्नो कार्यकर्तालाई चोट लागेको भनेर हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने माग राख्दै आएको थियो।
तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरेको प्रजिअ खड्काले बताए। अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ। झगडाको कारण पनि खुल्न नसकेको बताइएको छ।
कांग्रेसले चुनावमा भाग नलिने समेत बताएको प्रजिअ खड्काले बताए। अहिले त्याहाँ रहेको सुरक्षालगाएतको समुहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाई छ।
फोनले पनि काम नगर्ने त्यस ठाउँमा के भइरहेको छ भनेर जानकारी लिन पनि हम्मेहम्मे परिरहेको उनी बताउँछन्। स्याटालाइट फोनबाट मुस्किलले सुचना लिइरहेको पनि उनले बताए।