रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसी (भिउदे)ले मतदातालाई साडी र पैसा बाँडेको आरोप लागेको छ।
उनले पाखापानी क्षेत्रका मतदातालाई प्रलोभनमा पार्न टाेल–टाेलमा पुगेर महिला समूहलाई साडी र विपन्न परिवारलाई पैसा बाँडेको अध्यक्षका स्वतन्त्र उम्मेदवार चुडामणी वलीले दावी गरेका छन्।
पूर्वसभामुख ओनसरी घर्तीमगर र माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका केसीले खुलेआम गाउँभर मतदातालाई प्रभावित पार्दापनि सुरक्षा निकाय चुपचाप बसेको उनीहरूकाे गम्भीर आरोप छ।
जिनाबाङ र पाखापानीका स्थानीयले उम्मेदवार केसीलाई पैसा र साडी बाँडेको आरोप लगाइरहेका छन्। पूर्वसभामुख घर्तीमगर माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका केसीको प्रचारप्रचारका लागि झण्डै एकहप्ता गंगादेव गाउँपालिकामै बसेर बुधबार माडीचौर फर्किएकी छन्।
मौन अवधिमा माओवादी केन्द्रले मतदाता प्रभावित पारेकोमा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवारले आपत्ति जनाएका छन्। उम्मेदवारका कतिपय कार्यकर्तालाई पैसा बाँड्न आएको भन्दै स्थानीयले मालेखोलामा नाराबाजी गरेको कांग्रेसका एक नेताले बताएका छन्।