खानेपानी उपभोक्ता समूहको वार्षिक साधारण सभा गर्न नसक्ने व्यक्तिले नगरपालिका कसरी हाक्छ ?
यतिबेला माेरङकाे सुन्दरहरैंचा नगरवासीले चाेक–चाेकमा यही प्रश्न गर्न थालेका छन्। नेकपा (एमाले)का नेताहरूको आशिर्वाद लिएर वर्षौदेखि इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिको अध्यक्ष खाइरहेका केदार गुरागाई पुनः नगर प्रमुखको उम्मेदवार बनपछि मतदाताले गुरागाईलाई यस्तो प्रश्न गर्न थालेका हुन्।
५ वर्षअघि पनि उनीमाथि स्थानीय मतदाताले यही प्रश्न गरेका थिए। तर, त्यसबेला गुरागाईले सूर्य चिन्हको रुमालले मुख छोप्दै मतदातासँग माफी मागेका थिए।
स्थानीय निर्वाचन सकिएको ५ वर्ष बित्यो। सुन्दरहंरैचा नगरपािलकाको स्वरुप बदलियो। तर, एमालेबाट पुन: उमेद्वार बनेका गुरागाईले अझै खानेपानी आयोजनाको साधारण सभा गर्न सकेका छैनन्। नगर विकास कोषले गत वर्ष उपभोक्ता संस्थालाई लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन दिएको थियो।
स्थापनाकालदेखि हालसम्म साधारण सभा नभएको भन्दै कोषले अबिलम्व साधारणसभा गर्न निर्देशन दिए पनि तत्कालिन सत्ताको छत्रछाँया पाएका गुरागाई टसको मस भएनन्। नत नगर विकास कोषलाई साधारण सभा गर्न नसकेको विषयमा स्पष्टिकरण नै दिए।
कोषले २०७७ चैत २४ गते पत्र लेखेर स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको भन्दै पत्रचार गरेको थियो। पत्रमा पटक–पटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न भनिएको थियो।
एमालेको ओली गुटका नेता गुरागाईले उक्त पत्रलाई उसै बेला धोती लगाइदिए। तत्कालिन मन्त्री भानुभक्त ढकालले समेत खानेपानी आयोजनाको साधारण सभा गर्ने विषयलाई कुनै महत्व दिएनन्। जसले गर्दा गुरागाईको खानेपानीभित्र हालिमुहाली चलिरह्यो।
जानाकारहरू भन्छन्,‘इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति नेकपा एमाले पार्टी चलाउने प्रमुख आर्थिक स्रोतको केन्द्र हो। उठेको पैसा नियमित बैंक दाखिला नहुने। महिनौं सम्म अध्यक्ष र केही पदाधिकारीले चलाउने र महिनाको अन्त्यमा मात्र बैंक दाखिला हुने गरेको बताइन्छ।’
२०६२ सालमा स्थानीय उपभोक्ताले कुल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरेका थिए। नगर विकास कोषको ऋण सहयोगमा आयोजना २०७२ मा सम्पन्न भएको हो। तत्कालिन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि गठित आयोजनाले पानी वितरण गरेको ७ वर्ष पूरा भयो। तर, त्यस यता न त संस्थाको लेखापरीक्षण भएको छ। न त साधारण सभा नै भएको छ। खानेपानी आयोजनाका अध्यक्ष केदार गुरागाईले संस्थाको लाखौं रकम हिनामिना गरेको स्थानीयका आरोप छ।
धाराबाट पानी वितरण गरेको ७ वर्ष भयो। ६ हजार ५ सय उपभोक्ताले तिरेको रकमको हिसाव किताब छैन्। लेखा परीक्षण भएको छैन्। साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्नु पर्ने कुरा उठ्न थालेको ७ वर्ष पुराभयो। तर, अध्यक्ष गुरागाई अझै पनि लेखापरीक्षण गरेर साधारणसभा गर्ने मनस्थितिमा देखिएका छैनन्। स्थानीयले गुरागाईले लाखौं रुपैयाँ अनियमितता गरेकोले साधारणसभा बोलाउन आलटाल गरेको आरोप समेत लगाएका छन्।
‘तत्कालिन अवस्थामा सर्वपक्षीय समिति गठन गरिएको भए पनि अहिले अध्यक्ष बाहेकका पदाधिकारी र सदस्यहरू कार्यालय पुग्दैनन्। गुरागाईकै खेलोमेलो छ। हामी किन जानु ?,’ एक सदस्यले भने।
तदर्थ समितिले भर्ति गरेका कर्मचारीको नियुक्तिमा पनि प्रश्न उठ्न थालेको छ। हरेक वर्ष करोडौंको आर्थिक कारोवार हुने खानेपानी आयोजनालाई गुरागाँईले प्राइभेट लिमिटेड जसरी सञ्चालन गरेको असन्तुष्ठ सदस्यहरूको भनाइ छ।