वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका छन्।
मतदान गर्न समय चार दिन बाँकी छँदा हिँडेर जानुपर्ने स्थानका मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुग्न थालेका हुन्।
हालसम्म जिल्लाका १३ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।
गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ र नौकुण्ड गाउँपालिकाको १२ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेको उनले बताए। सोमबार मतदान सामाग्रीसहित लाङटाङ हिँडेका कर्मचारी र सुरक्षा निकायको टोली मंगलबार पुगेका छन्।
बाँकी मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारीहरूले पनि निर्वाचन सामाग्री बुझ्न थालेको उनले बताए। मंगलबार बेलुकीसम्ममा निर्वाचन सामाग्री सहित कर्मचारी मतदान केन्द्रमा पुगिसक्ने उनले बताए।
मतदान केन्द्रहरूमा पुगेका कर्मचारीहरूले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गर्ने बताएका छ। मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्ने लगायतका गतिविधिहरू सुरु गर्ने भएका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइएको छ। निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो। जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।