दाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गठबन्धन दलहरुले आइतबार दुई वटा ठूला आमसभा गरे। तुलसीपुरको अरणीको मैदानमा र घोराहीको सहिद मञ्चमा आमसभा भयो।
उक्त आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गरे।
आमसभालाई सम्बोधन गर्नुपूर्व तुलसीपुरमा भने एउटा रोचक दृष्य देखियो।
तुलसीपुरमा दिउँसो १२ बजे आमसभा सुरु हुने पूर्व निर्धारित कार्यक्रम थियो।
सोहिअनुसार गाउँगाउँबाट नेता कार्यक्रताहरु कार्यक्रममा आएका थिए। सभामा टेन्ट टाँगिएको थियो। टेन्टभित्र एक लहरमा महिला र अर्को लहरमा पुरुषहरु थिए।
मञ्चमा नेताहरु फाटफुट देखिएका थिए। दिउँसको ३ बजिसकेको थियो। १२ बजे हुने भनिएको आमसभा दिउँसको ३ बजेसम्म पनि सुरु भएको थिएन। मञ्चबाट प्राविधिकले गठबन्धन लक्षित र कांग्रेस लक्षित गीतहरु बजाइरहेका थिए।
सोहि गीतमा देउवा र प्रचण्डको पर्खाइमा रहेका नेता कार्यक्रमहरुले आफ्नो मन बुझाइरहेका थिए। प्रचण्ड र देउवा तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा आइसकेको पत्रकारहरुलाई जानकारी गराइएको थियो।
सोहिबीचमा मञ्चमा एकाएक एउटा दृष्य देखापर्यो। बाहिरबाट हतारहतारमा आएका केहि व्यक्तिहरुले मञ्चामा टाँगिएको ब्यानर निकाल्न लागे। दर्शकदीर्घमा बसेका सबैको ध्यान मञ्चतिर आकर्षित भयो।
केहिले मञ्चमा भएको ब्यानर निकाल्न लागे भने केहिले अर्को ब्यानर टाँग्नतर्फ लागे।
यतिबेलासम्म देउवा र प्रचण्ड बाटोमा आइरहेको जानकारी आएको थियो। तर मञ्चमा भने हतारहतार अर्को ब्यानर राख्नतर्फ लागिरहेका थिए।
ब्यानर किन निकालियो र किन अर्को राखियो भन्ने अर्को चासोको विषय सबैलाई भएको थियो। ‘ब्यानरमा स्थानीय तह निर्वाचन २)७( चुनावी आमसभा’ लेखिएको थियो।
ब्यानरको तल बायाँतर्फ कार्यक्रम हुने स्थान, बीचमा मिति लेखिएको थियो। यो दुबै ब्यानरमा थियो। तर दुई ब्यानरमा फरक यत्ति थियो कि, पहिले टाँगिएको ब्यानरको माथिल्लो भागको दायाँ कांग्रेस पार्टीको चुनाव चिन्ह रुख र बायाँ तर्फ कांग्रेस पार्टीको झण्डा थियो। अनि आयोजक भनेर नेपाली कांग्रेस दाङ एवं ५ दलिय गठबन्धन लेखिएको थियो।
पछि टाँगिएको ब्यानरमा भने कांग्रेसको चुनाव चिन्ह पनि थिएन र झण्डा पनि थिएन। आयोजक भनेर नेपाली कांग्रेसलाई हटाएर ५ दलिय गठबन्धन दाङ लेखिएको थियो।
कार्यक्रम सुरु हुनै लाग्दा देखिएको यो दृष्यले दर्शकहरुमा पनि केहि उत्सुकता जागेको थियो।
ब्यानर फेरिरहँदा नै देउवा र प्रचण्ड मञ्चमा आइसकेका थिए। उनीहरु मञ्चामा आउँदा नेकपा एकिकृत सामाजवादीका उपमहासचिव डा. विजय पौडेलले सम्बोधन गरिरहेका थिए।
उनले मञ्चबाटै आफ्नो असन्तुष्टिसमेत व्यक्त गरे। उनले ब्यानरका विषयमा मुख नखोले पनि गठबन्धनको कार्यक्रम जस्तो नभएको भाव व्यक्त गरे।
आफू मञ्चामा आउँदा कांग्रेस लक्षित, माओवादी केन्द्र लक्षित र संयुक्त रुपमा गठबन्धन लक्षित गीत बजेको र एकिकृत समाजवादी लक्षित गीत नबजेको असन्तुष्टि व्यक्त गरे।
यो असन्तुष्टि व्यक्त गरिहँदा देउवा र प्रचण्ड पनि मञ्चमा थिए।
दाङमा घोराही र तुलसीपुर गरि दुई उपमहानगरपालिका रहेका छन्। जसमध्ये तुलसीपुरमा गठबन्धनबाट प्रमुखमा कांग्रेसका गेहन्द्र गिरी र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीका जोगबहादुर राणा उम्मेदवार रहेका छन्।
घोराहीमा गठबन्धनबाट प्रमुखमा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) र उपप्रमुखमा नेपाली कांग्रेसका भुपबहादुर डाँगी उम्मेदवार छन्।