'इतिहास दुईपटक दोहोरिन्छ। पहिलो त्रासदीको रुपमा र दोस्रो प्रहसनका रुपमा।' कार्ल मार्क्सले १७० वर्ष अगाडि नै भनेको यो तथ्य 'एकीकृत जनक्रान्ति'को यात्रा र नयाँ संविधानपछिको दोस्रो स्थानीय चुनावमा आइपुग्दासम्मको नाटकीय छलाङले आज नेत्र बिक्रम चन्द 'विप्लव'को हकमा लागु भएको छ।
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्रले जनयुद्धको मुद्दा छाड्यो भनेर र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले जडसुत्र त्यागेन भनेर 'एकीकृत जनक्रान्ति'को यात्रामा निस्किएका विप्लव केही त्रासदी निर्माण गरेर सेलाए। र, त्यो त्रासदीले कयौं सर्वसाधारणको हताहती मात्र गरायो। रुमानी सपना बोकाइएका १२ जना क्रान्तिकारीहले अनाहकमा जीवन उत्सर्ग गर्नुपर्यो। हजारौं नेता, कार्यकर्ताले चरम यातना र जेलबास भोग्नुपर्यो। राज्य र जनताले अर्बौंको भौतिक क्षति बेहोर्नुपर्यो।
पोहोर फागुनमा राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगै मुठ्ठी उठाएर सार्वजनिक हुँदा र तीनबुँदे सहमति गर्दा विप्लवसँग शान्तिपूर्ण गतिविधि गर्ने, बन्दीहरू छुट्ने र राजनीतिक मागबारे छलफल गर्दै जाने 'उपलब्धि' मात्र हातमा थियो।
त्यति 'उपलब्धि'का लागि मात्रै त आत्मसमर्पण भान हुने सहमति भएको होइन होला, भित्री रणनीति वा गुह्य जोड घटाउ अर्कै होला भनी अनुमान गर्नेहरु थुप्रै थिए। तैपनि हिंस्रक गतिविधिमा रहेको एउटा राजनीतिक पक्ष शान्तिपूर्ण राजनीतिमा आउनु राम्रै थियो। त्यस सन्दर्भले प्रतिगमन गरेर झन्डै सीमान्त भएका ओलीलाई भने राम्रै 'क्रेडिट' दियो। ओलीले 'क्रेडिट' लिएपनि कांग्रेस, माओवादी केन्द्र र सबै राजनीतिक पक्षले त्यस सन्दर्भलाई स्वागत नै गरे।