तीन महिनाअघि जन्मिएको रेशम चौधरीको पार्टी एमाले-कांग्रेसलाई भारी

Breaknlinks
Breaknlinks

कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी ठूला दललाई भारी देखिएको छ। एमाले, कांग्रेस, माओवादीसहितका राष्टिय दललाई साढे तीन महिना अगाडि मात्रै गठन भएको नागरिक उन्मुक्ति पार्टी चुनौती दिएको छ।

निलम्बित सांसद सदस्य रेशम चौधरीकै अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका सबै (१३ वटै) स्थानीय तहमा उम्मेदवारी दिएको छ। रेशमकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेपनि पार्टीको ‘सुपर लिडर’ भने रेशम नै भएको यसका नेताहरूले खुलासा गरेका छन्।

टीकापुर घटनाका मुख्य योजनाकार पुष्टि भएपछि जेल जीवन बिताइरहेका उनै चौधरीलाई ‘लिडर’ मानेर नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी सरगर्मी बढाएको छ। निलम्बित सांसदको तस्बिरसहितको चुनावी प्रसार सामग्री बनाएर यो पार्टीले गाउँगाउँसम्म ढकिया चुनाव चिन्हको प्रवर्द्धन बढाएको देखिन्छ।

टीकापुरका स्थानीय प्राध्यापक खेमराज सुवेदी यति छोटो समयमा भएको प्रचार र स्थानीयको चुनावी माहोल देखेर छक्क पर्ने गरेको बताउँछन्।

‘चुनावी प्रचार, स्थानीयको उपस्थित र चर्को घामसँगैको गर्मीलाई बेवास्ता गरेर ढकियाले प्रचार बढाएको छ। यो पार्टीले गरेको प्रचार हेर्दा यसैले टीकापुरको मेयरसहितका अधिकांश वडामा बाजी मार्छ कि भनेर अड्कल काट्न सकिने भएको छ’, उनले भने।

सुवेदी भन्छन्, ‘अरु राजनीतिक दलको तुलनामा धेरै माहोल र बढी भिडभाड नागरिक उन्मुक्ति पार्टीको छ। प्रचारमा निस्किएको र्यालीमा पनि ७० प्रतिशत त ढकियाकै चुनाव चिन्ह लिएर हिँडेको देखिन थालेको छ।’ चौधरी र थारुको मत नै निर्णायक बन्ने टीकापुरमा यही समुदायको चित्त बुझाउने पार्टीले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सक्ने देखिन्छ।

चौधरीको पार्टीले आफ्नै समुदायको उम्मेदवार उठाएको र सामुदायिक ‘सेन्टिमेन्ट’ को भोट तान्ने अनुमान पनि अहिल्यै लगाउन थालिएको छ। अरु पार्टीको तुलनामा उम्मेदवार छनोटमा थारु, चौधरीलाई बढी स्थान दिएको यस पार्टीको चुनावी एजेण्डा भने बलिया छैनन्। केन्द्रीय संसदले गर्नुपर्ने संविधान संशोधन, थारुको हक सुरक्षित गर्ने अलग्गै पहिचानसहितको राज्य घोषणाा हुनुपर्ने माग राखे छ।

नागरिक उन्मुक्ति पार्टीको संगठन बलियो नभएपनि यसले साम्प्रदायिक भोट, असन्तुष्ट पक्षलाई समेटेको र अरु पार्टीबाट तानेर जिल्ला प्रमुख भित्र्याउने काम गरेको छ। सोही कामका आधारमा आफ्नो पार्टीको सानदार जित हुने टीकापुर नगरपालिकाका मेयर दावेदार रामलाल डगौरिया थारुले बताए।

कैलालीमा यसअघि जितेको एमाले आफ्नो विरासत जोगाउने दाउमा पनि छ। टीकापुर नगरपालिकाको एमाले उम्मेदवार श्याम खत्री यो पटक आफ्नो पकड गत वर्षभन्दा बढेको र गठबन्धनलाई जनताले नरुचाएकै कारण आफूले बाजी मार्ने दाबी गर्छन्।

एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गरेको थियो। यो वर्ष भने नतिजा उल्टाउने पक्षमा कांग्रेस छ। कांग्रेस-माओवादी गठबन्धनका मेयर नवराज रावल आफ्नो छवि, स्थानीयको आवश्यकता र सबै तहसम्म नै संगठनतात्मक कामको प्रभाव स्वरुपमा आफूरूले जित्नेमा विश्वस्त छन्।

प्रकाशित मिति: : 2022-05-07 20:39:00

प्रतिकृया दिनुहोस्