राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद र लोकतन्त्र बचाउन पाँचदलीय गठबन्धन भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष केसीले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच दल एक ठाउँमा उभिएको बताएका हुन्।
‘पाँच दलभित्र सबैको एक मत छैन तर संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ त्यही भएर हामी एक ठाउँमा आएका हौँ,’ केसीले भने ।
उनले नेकपा एमालेप्रति इंगित गर्दै एकाधिकार सत्ता चलाएकाहरुले गठबन्धनभित्र प्रहार गरिरहेको पनि आरोप समेत लगाएका छन्।
कार्यक्रममा केसीले कसैलाई खुशी पार्न आफूले जय नेपाल र लालसलाम नभन्ने पनि स्पष्ट बताएका थिए। सबैलाई एकमुस्ट अभिनन्दन गर्दै केसीले यसअघि कुनै सभामा आफू सहभागी नभएको सम्बोधनको क्रममा जानकारी गराएका हुन् ।
‘‘सम्पूर्ण मित्रहरूलाई म राष्ट्रिय जनमोर्चाको तर्फबाट अभिनन्दन गर्न चाहन्छु। अभिनन्दन भनेपछि सबै चल्छ सबैलाई यही हो,’ उनले अघि भने, ‘कसैलाई खुसी पार्न जय नेपाल र कसैलाई खुसी पार्न लाल सलाम होइन, अभिनन्दन पाँचै दलका सबैलाई।
‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो। हामी सबैलाई विश्वास छ यो चुनावमा सिर्जना सिंहले विजय प्राप्त गर्नुहुनेछ। महानगरको नेतृत्व गर्नुहुने छ।’
छ महानगरलगायत अन्यत्र जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने भन्दै उहाँले चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह गरेका छन् ।