मलाई जनताको आशिर्वाद छ, हिमामा कांग्रेसकाे जित निश्चित छ : लक्ष्मण शाही

नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मण शाही हिमा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन्। २०७४ सालमा हिमा गाउँपालिकाको निर्वाचनमा जम्मा ४५ मतान्तरमा पराजित भएका उनले त्यसपछिका दिनमा व्यापक रुपमा संगठन विस्तार गरेका छन्।

संगठन राम्रो भइकन पनि हार व्यहोरेका शाहीले जनताको माया पाउन बाँकी रहेको निष्कर्ष निकाली निरन्तर सक्रिय रहे। पाँच वर्ष निरन्तर जनताको बीचमा पुगेका उनी आफूले जनताको अपार माया पाएको बताइरहेका छन्।

‘जबसम्म जनताको बीचमा गएर उहाँहरुसँग घुलमिल हुन सकिँदैन तबसम्म उहाँहरुका समस्या पनि बुझ्न सकिँदैन,’ उनले भने, ‘त्यसपछि बल्ल समाधानका निम्ति पहलकदमी चाल्न सकिन्छ। त्यसपछि बल्ल जनप्रतिनिधि भइने रहेछ।’

उनले पाँच वर्ष स्थानीय सत्ताभन्दा बाहिर रहेपनि जनप्रतिनिधि भने हुन सकेकोमा गर्व गरिरहेका छन्।

स्थानीय सरकारको उपस्थिति कमजोर भएको बेला उनको सक्रियता झन बढ्यो। कोरोनाका तीनवटै लहरमा उनी मास्क र स्यानिटाइजर बोकी जनताको घरघरमा गए। स्कुल-स्कुलका समस्या बुझ्दै गए।

अघिल्लो वर्ष मात्रै उनले कालिका मावि बड्कीमा एक लाख ५१ हजा एक सय ५१ नदग सहयोग गरे। सदरमुकाममा हुँदा हिमाका जनताले लिएर आएका प्रशासनिक समस्याहरु सुल्झाइरहे। यिनै गतिविधिले उनी जनताका प्रिय पात्र बन्दै गइरहेका छन्।

हिमाको अध्यक्ष पदका उम्मेदवार बनेपछि जनताले हिजोका दिन सम्झिरहेको उनले बताए। उनले भने, ‘यसपालि जनताले गुन तिर्छु भन्नुभएको छ। त्यसैले म जित्छु।’

प्रतिपक्ष नहुने स्थानीय उनी हिमामा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको थिए। ‘अहिले हिमाका जनता र बुझेका मान्छेहरुले मलाई सत्ता सम्हाल्नुपर्छ भनेका छन्,’ उनले भने, ‘अब हिजो जित्ने साथीहरुले मलाई सचेत गराइदिनुपर्छ भन्ने मेरो मान्यता हो।’

जनतामा पलाएको विद्रोही भावनाले नै एमाले, माओवादीलगायतका पार्टीबाट विद्रोह गरेर नेपाली कांग्रेसमा आउनेको संख्या अहिले पनि बढिरहेको छ। ‘पार्टी संगठन बलियो छ। उम्मेदवारको रुपमा म बलियो छु। जसले हिमामा कांग्रेस झन बलियो हुँदैछ। त्यसैले हिमामा हाम्रो विजय सुनिश्चित छ।’

उनले हिमाका सातवटा वडाको विकासका लागि छुट्टाछुट्टै योजना प्रस्तुत गरेका छन्। माटो सुहाउँदो योजनाले हिमाको विकास गर्न सकिने उनको मत छ।

उनले कृषि क्षेत्रको आधुनिकीकरण, गरीब जनताका छोरोछोरीलाई कृषि विज्ञ बनाउने गरी उच्च शिक्षामा पुग्दो छात्रवृत्ति दिने, प्राविधिक जनशक्तिमा आत्मनिर्भर हुनको लागि मनग्य लगानी गर्नेलगायतका योजनाहरुको प्रभावकारी कार्यान्वयन गरिने बताए।

उनका अनुसार हिमाको शिक्षालाई समय सापेक्ष र अन्तर्राष्ट्रिय मापदण्डको बनाउन तथा त्यसलाई हिमाको विकासमा लगाउन सकिने गरी योजनाहरु निर्माण गरिएका छन्।

उनको उक्त योजनाले हिमाका २२ वटा सामुदायिक विद्यालयहरुमा लागु गर्दा शिक्षा क्षेत्रको राम्रो विकास हुने उनको मत छ।

उनको स्वास्थ्यसम्बन्धी योजनामा कालिकाखेतु स्वास्थ्य केन्द्रमा आधुनिक उपकरण थप्ने र जनशक्तिसहित विशेषज्ञ चिकित्सक राखेर जनताको स्वास्थ्य स्थितिमा सुधार गर्ने छ।

‘हरेक स्वास्थ्य चौकीको सेवा विस्तार गरिने छ,’ उनले भने, ‘हामी इमानदारीपूर्वक हिमाको स्वास्थ्य क्षेत्र, भौतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रको विकास गर्न तयार छौं।’

हिमा गाउँपालिका धार्मिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो। नेपाली राष्ट्रिय भाषा र खस सभ्यताको उत्पतिस्थल भएको हुनाले संसारभरका मान्छे तीर्थस्थल सिंजालाई बनाउन सकिने उनको मत छ।

मोफ्लामा हरेक वर्ष कोजाग्रत पूर्णिमामा लाग्ने मेलालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्दै हजारौं पर्यटकहरु मोफ्ला पुर्याउने उनको लक्ष्य छ। उनले भने, ‘पाथरखोलाको अ‍ैडाकोटको देउता, कुडुको गुरो मष्टो, बड्कीको कालासिन्दुलगायत देउताकै कारण सामाजिक सम्बन्ध बलियो बनाइने छ।’

सिंजाकै सबैभन्दा ठूला ओदीको लामा विष्णु देउता सांस्कृतिक समन्वयको प्रतीक हुन्। लामा भनेको बुद्ध धर्मका हुन् भने विष्णु हिन्दु धर्मका हुन्। यी दुबैको धामी हुनु र थानमा पुजा लाग्नु मष्टो परम्परा हो। यति ठूलो सांस्कृतिक समन्वय भएको हिमाको विकास धार्मिक पर्यटनबाटै गर्न सकिने उनको राय छ।

प्रकाशित मिति: : 2022-05-07 07:27:00

प्रतिकृया दिनुहोस्