स्थानीय तहको निर्वाचन सम्मुख निर्वाचन आयोगले बनाएको आचार संहिताको पालना र उल्लंघनको कुरा यतिबेला निकै चर्को चर्चामा छ । यस विषयको चर्चा अघि आचार (संहिता) र जीवन पद्धतिवीचको साइनोप्रति अलिकति आँकलन गर्दा आचरण चिन्तन क्रमको जिरोकिलोमा समेत झाक्न सकिन्छ कि ? भन्ने लाग्छ ।
मान्ने हो भने आचार (संहिता) मानिसको जीवन चरित्रसँग अभिन्न छ । सामाजिक,साँस्कृतिक र आर्थिक वा मान्छेले गर्ने यावत् व्यवहारमा सम्बद्ध आचार संहिताको सीमा रहन्छ भन्ने बुझिन्छ । नमान्ने हो भने मानिसको चरित्र र व्यवहार कति अराजक र असन्तुलित होला ? अनुमान बाहिर छ ।
घोषित, अघोषित र अनुपालित आचारको परम्परा मानिसले जीवनलाई सन्तुलित,व्यवस्थित र पवित्र बनाउने सोचका साथै विकसित भएको हुनु पर्दछ । आचार प्राकृत पनि छ र व्यक्ति वा समाजलाई सभ्य बनाउने विचार विस्तारको क्रममा व्यवहृत र निर्मित भएको मान्नुपर्छ ।
युगीन यात्रा श्रृंखला पार गर्दैगर्दा मानव समाजलाई कहिले धार्मिक वा आध्यात्मिक आचार संहिताले निर्देशित गर्यो । यो क्रम धार्मिक पथका कट्टर अनुयायीहरुवीच अद्यापि जीवन्त छ । समय क्रममा आचार संहिताले कानूनी हैसियत समेत पाएको छ ।
आचार(संहिता)को मूल मर्म सद्चरित्र निर्देशित व्यवहार हो तर यो प्रक्रिया सबै ठाउँमा हुबहु अंगीकार गरिन्छ भन्ने छैन । उदाहरण–स्थापित संहिताहरुले पश्चिमा जगत् र पूर्वीय जीवन संस्कृतिलाई फरक फरक शैलीमा चल्ने वा सीमाको स्वीकृति दिएको पनि प्रत्यक्ष छ ।
यसरी हेर्दा आचार संहिता व्यापक र ‘भेग’ लाग्छ । तर पेशा, व्यवसाय र निर्वाचन जस्ता अवसरमा कायम गरिने आचार र त्यसका निम्ति बनाइने संहिता कार्य प्रकृति अनुरुप हुने नै भए । जस्तै पत्रकारिता जगत्ले अनुशरण गर्नुपर्ने यस सम्बन्धी संहिता छ र यो सबै विषय क्षेत्रमा दुरुस्त लागू हुने होइन ।