जसले विप्लव समूहलाई प्रतिबन्ध लगायो, उसैसँग नजिक
०७१ साल मंसिर १५ गते काठमाडौंको राष्ट्रिय नाचघरको हल नेता, कार्यकर्ता र पत्रकारले खचाखच भरिएको थियो । मञ्चमा मुख्य आकर्षण भएर बसेका थिए– नेत्रविक्रम चन्द ‘विप्लव’ । उनीसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर लगायतका नेता लस्करै कुर्सीमा थिए ।
प्रहरी÷आर्मीकै शैलीमा जुँगा, दाह्री, कपाल काटेर चिटिक्क परेका विप्लवको हाउभाउ अरु दिनभन्दा बेग्लै थियो । उनी घरी तल हेर्थे, घरी दायाँबायाँ फर्किन्थे, मुखको चालले समेत केही सोचेजस्तो वा केही आत्तिएजस्तो भान हुन्थ्यो ।
जब बोल्ने पालो आयो, भावुक हुँदै उनले ‘यो क्रान्तिको यात्रामा दायाँबायाँ प्रचण्ड, बाबुराम र वैद्यहरु हुुनुपर्ने’ भन्दै उनीहरु छुटेकोमा अफसोस व्यक्त गरे । माओवादीको १० वर्षे ‘जनयुद्ध’मा मृत्यु वा मुक्तिको कसम खाएका सबैले क्रान्तिलाई धोका दिएकाले पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पहल थाल्दा नमज्जा लागेको उनले सुनाए । ‘क्रान्तिको यात्रामा सबै गन्तव्यमा नपुग्ने’ भन्दै उनले अधुरो क्रान्तिको झण्डा एक्लै भए पनि उठाउनु पर्दा कताकता अभिभावकविहीन भएजस्तो अनुभूति भएको समेत बताएका थिए ।