जनताकाे मर्म बुझेकाे छु, सबैकाे चित्त बुझ्ने गरी काम गर्छु : कृष्ण खड्का (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन नजिकिँएसँगै चुनावी सरगर्मी बढिरहेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेरदवारहरु यतिबेला चुनावी अभियामा व्यस्त देखिन्छन्। हरेक टोल–टोल चिया पसल, सामाजिक संञ्जाल र घर–घरमा चुनावी बहस समेत भइरहेका छन्।

देशभरका सबै स्थानीय तहका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएसँगै निर्वाचन आयोगले चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ।यतिबेला सबै स्थानीय तहका उम्मेदवारहरू आ–आफ्नो चुनाव चिन्ह र घोषणापत्र लिएर घरदैलो अभियानमा पुग्न थालेका छन। विभिन्न दलहरूबाट उम्मेदवारी दिएकाहरू अहिले गाउँ–गाउँमा पुगेर भोट मागिरहेका छन्।

यही सन्दर्भमा प्युठानकाे मल्लरानी गाउँपालिकामा जनमोर्चा र नेपाली कांग्रेसको गठबन्धनबाट गाउँपालिका अध्यक्षको उम्मेरदवारी दिएका जनमोर्चाका नेता कृष्ण खड्का बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानी प्रस्तुत छ:-


गाउँपालिका अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

समग्र मल्लरानीकाे विकास, हरेक समस्याको समाधान तथा जनताको पीडालाई पूर्णरुपमा व्यवस्थापन, सुख दु:खमा सहयात्रा गर्नका लागि मेरो उम्मेरदवारी हो।

चुनावी अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?

हाम्रो गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको गठबन्धन रहेको छ। हाम्राे गठबन्धन भएसँगै जिम्मेवारी बाडफाँड गरे नियमित रूपमा कार्यक्रमहरू गर्दै आएका छाैँ।

यसपटककाे चुनावलाई कत्तिकाे चुनाैतीपूर्ण रूपमा लिनुभएकाे छ ?

निर्वाचन हो, चुनैती त हुन्छन नै। कुनै पनि कुरालाई सामान्य रुपमा लिनु हुन्न तर हाम्रो गाउँपालिकामा यो भन्दा पहिले एक्लै जितेको थियौँ। अहिले केन्द्रले नै गठबन्धन गर्ने नीति लिएकाले हामीले गठबन्धन गरेका हौँ। जित्नेमा ढुक्क छौँ, दुईमत छैन।

तपाईंका चुनाव जित्ने आधार के–के हुन् ?

सबैभन्दा पहिले त हाम्रो संगठन बलियाे छ, त्यही माथि गठबन्धन छ। २०७४ को निर्वाचन जितेपछि हाम्रो प्रतिनिधिले गरेको काम, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासका काम भएका छन्। त्यही माथि मैले गरेको समाज सेवाले गर्दा हामी यहाँको जनतासँग हातेमालो गर्दै अगाडि बढेका छौँ। जित्ने आधारहरु धेरै छन्।

चुनाव जितेपछि तपाईंको प्राथमिकमा के–के कुरामा बढी हुन्छ ?

हाम्रो गाउँपालिका देशको विकट गाउँपालिका मध्येको एक हो। यो क्षेत्र सदरमुकाम रहेपनि यहाँको जनता पीडामा छन। अब विकासका पूर्वाधार पुर्याए नगरपालिकामा परिरत गर्ने छु। हाम्रो पालिकामा शिक्षा, स्वास्थ्य, यातायातलगायतको सामाजिक समस्यालाई पूर्णरुपमा हटाउने, सडक निर्माण भएपनि व्यवस्थित हुन सकेको छैनन्, सबै सडक व्यवस्थित बनाउने, सकेसम्म यहाँका युवालाई राेजगारीकाे व्यवस्था, कृषिमा आधुनिकिकरण गरेर पालिकालाई जिल्लाकै नमुना पालिका बनाउनेछु।

चुनावी अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ। यहाँको सामाजिक, कृषि, सिंचाई, स्वास्थ्य, शिक्षालगायतका विभिन्न समस्याहरु देखाउनुभएको छ। अब तपाईंबाट धेरै आशा गरेका छौँ भन्न्र हुन्छ।

फरक विचार राख्ने नेपाली काँग्रेसँग तपाईंकाे चुनावी तालमेल छ, के कांग्रेसी कार्यकर्ताले तपाईंलाई भाेट हाल्नन् ?

हाल्नुहुन्छ। हामीले यो भन्दाको पहिलेको राष्ट्रिय सभाको निर्वाचनमा देखिसकेका छौँ। ०७४ सालको चुनावमा जिल्लाको एउटा गाउँपालिकामा गठबन्धन गरेर गएका थियौँ। यो अभ्यासमा २०४६ सालको आन्दोलन, देशमा आइपरेका राष्ट्रिय संकटको बेला प्रजातान्त्रक शक्तिसँगै मिलेर गएका कहियाैँ उदाहरणहरू छन्। हाम्रो गठबन्धन प्रतिगमनको विरुद्धमा भएको गठबन्धन हो। हिजोको दिनमा हामीले नेकपाको दुई तिहाईको सरकार बनाइदिन त्यतिबेला अहिलेको एमालेसँग तालमेल त गरेकै हो। गठबन्धन यो राष्ट्रलाई जस्तो रुपमा आवश्यक पर्छ त्यसरी प्रतिगामीलाई हराउन गरिएको गठबन्धन हो। संविधान, गणतनत्र र राष्ट्र जोगाउनको लागि यो अवस्था आएको हो। एमाले, राजावादी लगायतका दलहरुले गरेको खराब कदम संविधानको रक्षाको लागि गरिएको गठबन्धन रहेकाले ढुक्क छौँ, भोट हाल्छन्।

अन्तिममा तपाईंका मतदातालाई के भन्न चाहनुहुन्छ ?

मतदाताहरुले ०७४ सालको चुनावमा भोट दिएर जिताउनुभयो काम गर्ने मौका दिनुभयो, यो पटक पनि सेवा गर्ने मौका दिनुहोस्। विगतमा प्राविधिक रूपमा कहीँकतै काम हुन बाँकी होलान्, अब म पुरा गर्नेछु। हामी तपाईंहरुको समस्याको समाधान गर्ने, स्थानीय तहबाट हुने ओयोजना तथा विकासको काम गर्ने छौँ। तपाईंको समस्या हामीले समाधान गर्ने छौँ सबैकाे मर्म बुझेकाे मान्छे हुँ चित्त बुझ्दाे काम गर्छु। हामीलाई भोट हाल्नुहोस्।

प्रकाशित मिति: : 2022-05-05 20:33:00

प्रतिकृया दिनुहोस्