बिएल संवाददाता
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलो कार्यक्रममा छन्। उम्मेदवारलाई चुनावी चटारो छ। २०७४ मा स्थानीय तहको नेतृत्व गरेका दलका उम्मेदवार अपूरा काम पूरा गर्न मत मागिरहेका छन्।
अघिल्लो निर्वाचनमा स्थानीय सत्ताको नेतृत्व गर्न नपाएका दलका उम्मेदवार विगतमा भएको गलत कामको भन्डाफोर गर्ने भन्दै मतदाता कहाँ भोट माग्न पुगेका छन्। दलहरूसँग नयाँ चुनावी एजेन्डा खासै छैन। उनीहरूका घोषणा पत्र हेर्ने हो भने विगतको घोषणा पत्रलाई ‘पुनः सम्पादन’ गरेको जस्तो देखिन्छ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकलाई पनि चुनावले छपक्कै छोपेको छ। प्रमुख दलबाट पुरानै अनुहार चुनावमा होमिएका छन्। कांग्रेस, माओवादी राप्रपाको गठबन्धनबाट नगरप्रमुखमा राम थापा छन्। उनी स्थानीय निर्वाचनमा सधैँ उम्मेदवार बन्छन्।
तर, जनताबाट सधैँ ‘अयोग्य’ ठहरिन्छन्। तै पनि चुनाव लड्न छाड्दैनन्। एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारी पनि नयाँ अनुहार हैनन्। उनले २०७४ मा भएको निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुख पद सम्हाली सकेकी छन्। यी दुई उम्मेदवारबीच दमकमा प्रतिस्पर्धा हुने देखिन्छ। पुराना अनुहारबाट पुरानै एजेन्डा लिएर जनता माझ गएका छन्।
दमकमा सुकुम्वासीले सधैँ आश्वासन मात्र पाउँछन्। प्रत्येक चुनावमा सुकुम्वासीलाई जग्गा धनी प्रमाण पूर्जा दिने दलहरूको एजेन्डा बन्छ। तर, सुकुम्वासीले कहिल्यै धनीपूर्जा पाउँदैनन्। दमक–१० सेतुमारी बगरगाउँकी अनिता शेर्मासँग २०६८ सालमै सुकुम्वासी समस्या समाधान आयोगले दिएको सुकुम्वासी परिचयपत्र छ।
उनले जग्गाधनी प्रमाण पूर्जाका लागि पटक-पटक फर्म भरिन्। दलहरूले चुनावमा पनि यही आश्वासन दिन्छन्। तर, धनीपूर्जा भने अझै पाएकी छैनन्। ‘चुनावनै पिच्छे धनीपूर्जा दिन्छु भन्छन्। २०७४ मा पनि धनीपूर्जा दिइहाल्छु भन्थे। तर, अहिलेसम्म दिएनन्,’ उनी भन्छिन्, ‘यसपटक पनि धनीपूर्जा दिन्छु भन्दै भोट माग्न आएका छन्। तर, हामीलाई आस छैन।’
उनको घर नेपाल–चीन मैत्री औद्योगिक पार्कछेउमै छ। यो सुकुम्वासी गाउँ नै औद्योगिक पार्कले अधिग्रहण गर्ने भनेर हल्ला छ। उनलाई पनि श्रीमान्ले विदेशमा वर्षौँ दुःख गरेर सुकुम्वासी बस्तीमा बनाएको घर जाने त हैन भन्ने चिन्ता छ। ‘यो औद्योगिक पार्कले लान्छ भन्छन्। तर, अहिलेसम्म कसैले छाड भनेर चाहिँ आएको छैन। श्रीमानले धेरै वर्ष विदेशमा दुःख गरेर एउटा घर जोडे। यही पनि जान्छ कि भन्ने पिर छ,’ उनी भन्छिन्, ‘चुनावका बेला त के-के आश्वासन दिन्छन्। तर, चुनाव सकिएपछि पूरा गर्दैनन्।’
दमक-१० की वृद्धा फूलमाया हेमरमले जसोतसो ऐलानी जग्गामा झुप्रो जोडेकी छन्। अर्काकोमा लामो समय काम गर्न बसेर, जनमन गरेर भए पनि उनको परिवारले ओत लाग्ने झुप्रो बनाएको छ। तर, यो जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनु पर्ने त हैन भन्ने चिन्ता छ। नेपाल–चीन मैत्री औद्योगिक पार्कले उठाउने हो कि भन्ने चिन्ता छ, उनलाई पनि।
‘जनमन र अर्काकोमा हली बसेर जोडेको जग्गा हो। चुनावका बेला केही हुँदैन धनीपूर्जा दिन्छौँ भन्छन्। चुनाव सकिएर गएपछि नेताको भर नै हुँदैन।के गर्छन्, गर्छन्,’ उनी भन्छिन्, ‘वडाध्यक्ष (निवर्तमान दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेको घरमा हाम्रो परिवार ४५ सालतिर हली बसेका थियौं। उहाँ हुँदा त धनीपूर्जा पाएनौं अब के पाउँछौँ ?’
गरिबलाई खाना र राम्रो घरमा बस्न नै सकस छ। छोराछोरीलाई राम्रो शिक्षा दिने त कल्पनाको विषयमात्रै बन्दै छ। ‘बिहान बेलुका छाक टार्न मुस्किल छ। केटाकेटीलाई कसरी पढाउने ? मजदुरी गरेको पैसाले खान पनि पुग्दैन। हामीलाई पनि छोराछोरी राम्रो स्कुल पढाउने मन हुन्छ। तर, पढाउन सकेका छैनौँ। सरकारी स्कुलमा पनि के केमा पैसा लाग्छ। सरकारी स्कुल पनि पढाउन नसक्ने भइसक्यौं,’ उनी भन्छिन्, ‘अब चुनाव जित्नेले कम्तीमा हाम्रा नानीहरूले राम्रो स्कुल पढ्ने व्यवस्था मिलाइदिओस्। पढाउँदा पैसा नलागोस्।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया