चुनावमा कालापानी मुनीका गाउँ सुनसान 

स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ। तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन्। 

वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ। ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन। यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन्। 

व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार सबै मतदाताको घरदैलोमा पुगिरहेका छन्। तर वडा नम्बर १ छाङरु र तिंकरसम्म पुग्नका लागि नेपालबाट बाटो नहुँदा ती गाउँलाई चुनावले छोएको छैन। वडा नम्बर २ को दुम्लिङसम्म घरदैलो अभियान गरिएको भए पनि बाटो नहुँदा माथिल्लो क्षेत्रमा जान नसकिएको नेकपा एमालेका नेता कल्यान सिंह खत्रीले बताए।

हाल छाङरु र तिंकर क्षेत्रमा सुरक्षाकर्मीमात्रै छन्। त्यस क्षेत्रका स्थानीय सदरमुकाममै रहेकाले यतै प्रचारप्रसार गरिरहेको नेकपा एमालेबाट व्यास गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराले बताए। '२५/२६ गतेतिर सबै स्थानीय गाउँजाने तयारीमा छन्। त्यसपछि उतै गएर प्रचार प्रसार हुन्छ। अहिले गाउँलेहरूको यात्रा अनुमति पत्र बनाउनमा सहयोग गर्ने गरिरहेको छु,' बोहराले भने।

त्यस क्षेत्रमा निर्वाचनका लागि खटिने कर्मचारी तथा निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्न निर्वाचन आयोगमा अनुरोध गरेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए। सुरक्षाकर्मी भने छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरका जनशक्तिहरू परिचालन गर्ने तयारी छ। बिरादत्त भट्ट 

प्रकाशित मिति: : 2022-05-04 20:51:00

प्रतिकृया दिनुहोस्