अखिल (क्रान्तिकारी), आर.आरले सुरू गर्‍याे ‘लाइब्रेरी सुदृढीकरण अभियान’

आज विद्यार्थी संगठनहरु विद्यार्थीका मुद्दामा केन्द्रित हुन नसकेको आरोप जताततै व्यप्त छ। यसले समस्त विद्यार्थी आन्दोलनको औचित्य र संगठनको अस्तित्वमाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ। यस्तो प्रतिकुल अवस्थमा पनि केही कोसिस भने भइरहेका छन्। यस्तै कोसिस गर्नेहरुमध्ये एउटा हो, अखिल (क्रान्तिकारी), आर.आर. क्याम्पस कमिटी।

काठमाडौंको केन्द्रमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस विद्यार्थी आन्दोलनको हिसाबले अत्यन्त महत्त्वपूर्ण क्याम्पस मानिन्छ। मानविकी क्याम्पस भएर पनि होला यहाँ कम्युनिष्ट विद्यार्थी संगठनहरुको प्रभाव बढी देखिन्छ। सडक सङ्घर्षमा सधैं अगाडि देखिने यो क्याम्पस र यहाँका संगठनहरु मध्ये पनि आज अखिल (क्रान्तिकारी) बेग्लै तबरले पहिचान स्थापना गर्न प्रयासरत छ।

विभिन्न विद्यार्थी केन्द्रित सिर्जनात्मक अभियान संचालन गर्दै आएको यस संगठनले हालसालै लाइब्रेरी सुदृढीकरण अभियान चलाएको थियो। यस अन्तर्गत विभिन्न विभागहरुसँग समन्वय गर्दै अखिल (क्रान्तिकारी) ले लाइब्रेरीमा नयाँ किताब भित्र्याउने, लाइब्रेरीको भौतिक संरचना र आफूसँग आवद्ध विद्यार्थीहरुलाई लाइब्रेरी जान प्रेरित गर्ने पहलहरु लिँदै आएको छ। त्यति मात्र होइन, संगठनले आफ्नै पहलमा केही नयाँ किताबहरु लाइब्रेरीमा ल्याएको छ।

‘पुस्तकालयको मुद्धा सबैले उठाउने तर त्यो मुद्दामा मात्र सिमित रहेको हामीले लामो समयदेखि देखिरहेका थियौं। त्यसैले यसपटक हामीले किताबको सूचीसहित क्याम्पस प्रशासन समक्ष माग पत्र राख्यौं। हाम्रो निरन्तरको दबाबका कारण आज लाइब्रेरीमा किताबहरु आएको छ,’ क्याम्पस कमिटी उपाध्यक्ष प्रविन विष्टले भने,‘केही किताब ल्याउने मात्र हाम्रो उद्देश्य होइन, हामीले साङ्केतिक रुपमा विद्यार्थीहरुको एउटा महत्त्वपूर्ण मुद्दा लाइब्रेरी हो र यो निरन्तर अपडेटेड रहनपर्छ भन्ने सन्देश दिन खोजेका हौं।’

यस कार्यक्रमभन्दा पहिले पनि अखिल (क्रान्तिकारी) निरन्तर क्याम्पसभित्र विद्यार्थीका साना/ठूला सबै मुद्दामा सङ्घर्ष गर्दै आएको देखिएको छ। संगठनकै पहलमा यस शैक्षिक सत्रबाट स्नातकोत्तर र स्नातक तहमा छात्रवृत्तिको व्यवस्था भएको छ। ‘हामीले छात्रवृत्तिको मुद्दा उठाउँदा धेरै नै नाइनास्ती सुन्नुपरेको थियोे तर हामी निरन्तर आफ्नो अभियानमा लाग्यौं। प्रशासनलाई ज्ञापन पत्र बुझायौं, कक्षाकक्षामा गएर विध्यार्थीहरुलाई उनीहरुको मुद्दामा बोल्न प्रेरित गर्यौ र हस्ताक्षर संकलन अभियान पनि चलायौं। हाम्रो निरन्तरको दबाबका कारण आज विद्यार्थीहरुले आफ्नो छात्रवृत्तिको अधिकार पाउन सफल भएका छन्,’ अर्को उपाध्यक्ष सोनी भट्टराईले भनिन्।

प्रकाशित मिति: : 2022-05-03 17:54:00

प्रतिकृया दिनुहोस्