मेयरका उम्मेदवार शाही भन्छन्– चन्दननाथमा कांग्रेसको संगठन राम्रो छ, जित्ने हामी नै हो (भिडियाे)

जुम्लाका आठवटै स्थानीय तहको लागि प्रमुखका उम्मेदवार बनेकाहरुको सार्वजनिक वृत्तमा चर्चा भयो भने एक नम्बरमा आउने नाम हो, पदमबहादुर शाही। उनलाई नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार बनाएको छ।

झण्डै ३० वर्ष बढी कानुन व्यवासाय गरेका उनी शालीन व्यक्तित्वका धनी मानिन्छन्। कम आम्दानी हुने नागरिकका मुद्दा निःशुल्क लडेर किनारा लगाएका उनी जनतामाझ लोकप्रिय छन्।

झट्ट हेर्दा कानुन व्यवसायी जस्तो मात्रै देखिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा उनको उत्तिकै सक्रियता रहेको पृष्ठभूमिले बताउँछ।

उनी नेपाली कांग्रेसको नगर समितिका पूर्व सभापति हुन्। २०५४ सालमा तत्कालीन कार्तिक स्वामी गा.वि.स. वडा नं. ६ मा निर्वाचित वडा अध्यक्ष भएका उनी स्थायी जागिर छाडेर राजनीतिमा आएका थिए।

‘२०४४ सालमा शिक्षण पेशाबाट जागिरे जीवनको सुरुवात गरेकाे थिएँ। प्रावि कुडी, चन्दननाथ मावि खलंगा, दुर्गा मावि लाम्रा, जनज्योति मावि बारकोटेबाडा, सत्यवादी निमावि दशौंदीमालगायत स्कुलमा पढाएँ,’ उनले भने, ’यही बीचमा लोक सेवा पास गरेर जिल्ला स्वास्थ्य कार्यालय डोल्पामा छ महिना मुखिया पनि भएको थिएँ।’

कानुनमा स्नातक तह अध्ययन गरेका ५३ वर्षीया शाही लामो समय जागिरमा टिकिरहन सकेनन्। महिनावरी तलबको रुपमा सरकारी रकम बुझिरहेका उनले यी सबैको माया मारेर सामाजिक क्षेत्रलाई रोजे। जसबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जनताले लाभ लिइरहेका छन्।

जुम्लाको सबैभन्दा पुरानो र प्रतिष्ठित लेकाली युवा क्लबको अध्यक्ष पद सम्हालेपछि उनको सामाजिक सेवा सुरु भएको थियो। उनले भने, ‘नेपाल रेडक्रस सोसाइटी जुम्लाको संयोजक भई जिल्लामा पहिलो पटक गाविसस्तरीय बालक्लब गठन गर्ने अधिकारकर्मीको जस मैले नै पाएँ। यी मेरा सामाजिक क्षेत्रका उपलब्धि हुन्।’

अन्तर्राष्ट्रिय उद्धार समिति आइ.आर.सीमा बाल संरक्षण अधिकृतको रुपमा काम गरेका उनले अनुभव संगाल्न बाँकी निकै कम क्षेत्र मात्रै छन्। नेपाल कानुन समाजको जिल्ला फोकल पर्सन भएका थिए। जुम्लामा संविधान सूचना केन्द्रमार्फत नयाँ संविधानमा कर्णालीको आवाज पुर्याउने कामसमेत उनीमार्फत नै भएको थियो।

संविधान सभासम्म नागरिकको राय सुझाव पेश गर्ने र संविधान सभामा भएको छलफललाई नागरिकसम्म पुर्याउने पुल बनेका उनी हरेक तवरबाट जनतासँग नजिक छन्।

संसदमा छलफलका लागि प्रस्तुत भएका विधेयकका बारेमा जिल्लास्तरमा नागरिक संवाद कार्यक्रम संचालन गरी कानुन निर्माण प्रकृयामा नागरिकको चासो बढाउने कामका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यतिमात्रै नभई सार्वजनिक हित र सरोकारका विषयमा अदालतमा रिट हाली अन्तरिम आदेशसमेत गराउन सफल भएका थुप्रै उदाहरण छन्।

‘२०५९ सालमा कर्णालीको खाद्यन्न अभावको विषयमा रिट पुनरावेदन अदालतमा रिट हाली अन्तरिम आदेश जारी भएको थियो,’ उनले भने, ‘हरेक वर्ष हुने पाठ्यपुस्तक अभावको विषयमा इन्सेकसँग सहकार्य गरी रिट हाल्दा अन्तरिम आदेश गराउन सफल भएको थिएँ।’

कोरोनाकाे समयमा क्वारेन्टाइन व्यवस्थापनको विषय र प्रदेशका खोलानालाबाट नदीजन्नय पदार्थ उत्खननका लागि नयाँ कानुन निर्माण आवश्यक रहेको भनी हालेको रिटमा अन्तरिम आदेश गराएपछि उनी सफल र सक्षम कानुन व्यवसायीको रुपमा फराकिलो परिचय बनाउन सफल भएका थिए।

यतिबेला चन्दननाथ नगरपालिकाको मेयरका लागि सक्षम उम्मेदवारको रुपमा परिचित उनी भन्छन्, ‘नगरकाे लागि चाहिने कानुन निर्माणका लागि कुनै अलमल हुने छैन। नगरमा विधिको शासन संचालन गर्नका लागि जनताले मलाई विजयी गराउनेमा विश्वस्त छु।’

नेपाल वार एसोसियसनको कर्णाली क्षेत्रबाट पहिलो पटक खुला केन्द्रीय सदस्यसमेत बनेका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन्। उनले कांगेसको १२ औं महाधिवेशनमा कालिकोट जिल्लामा निर्वाचन अधिकृत काम गरेका थिए।

कांग्रेसको बलियो संगठन, फराकिलो व्यक्तित्व र क्षमताका कारणले पनि विजयी हुने सम्भावना बलियो भएको दाबी गर्दै शाही भन्छन्, ‘संगठन राम्रै छ, जित्ने पनि हामी नै हौं।’

प्रकाशित मिति: : 2022-05-03 12:52:00

प्रतिकृया दिनुहोस्