प्लेनको शौचालयबाट २ किलो सुन बरामद, ५ जना पक्राउ

Breaknlinks
Breaknlinks

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ केजी ३ सय ३२ ग्राम सुन भेटिएकाे छ।

दुबईबाट काठमाडाैँ आएको हिमालय एयरको विमानको शौचालयभित्र राखिएको डस्टबिनमा सुन लुकाएर ल्याएकाे पाइएकाे प्रहरी जनाएकाे छ।

प्रहरीले सुनसहित विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ। सुन तस्करी गर्न खोजेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएकाे प्रहरी जनाएकाे छ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सरसफाई गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन्। तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन्।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सरसफाई गर्ने कर्मचारी पाँचथर घर भएका २८ वर्षीय भीमकुमार माबो र नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ रहेका छन्।

त्यसैगरी उदयपुरका २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा-४ का ३६ वर्षीय ताराकान्त चौधरी छन्।

हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ कम्पनीका सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहाेरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए। दुईजनाले सुन बाँडेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए।

विमानस्थलको फलामे गेट भएर उनीहरू बाहिर निस्किन खोजेका थिए। तर, उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुन नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरीले जनाएको छ।

उनले एक हजार १६६ ग्रामका १० थान बिस्कुट लुकाएर बाहिर ल्याउन खोजेका थिए। तर, स्क्यानिङको क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए। तामाङले समेत पर्स भित्र उस्तै गरी एक हजार १६६ ग्राहका १० थान बिस्कुट बोकेका थिए।

नियन्त्रणमा लिइएका दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो। सुन तस्करी प्रकरणमा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता रहेको पाइएको हो।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ।

प्रकाशित मिति: : 2022-04-29 19:00:00

प्रतिकृया दिनुहोस्