नेपालमा स्थानीय निर्वाचनको मिति वैशाख ३० गते नजिकिँदै जाँदा, यसको पारो पनि त्यत्तिकै चढ्दो छ। उम्मेदवारी दिने क्रम सकिएको छ। अब जे जस्ता व्यक्ति भए पनि यिनै उम्मेदवारमध्येबाटै आफ्नो स्थानीय सरकार छान्ने विकल्प जनतालाई छ।
जनतासामु ठूला, साना राजनीतिक दलका उम्मेदवारमात्र छैनन्, स्वतन्त्र उम्मेदवार पनि छन्। परम्परागत दलका मात्र उम्मेदवार छैनन्, आफूलाई विकल्प भन्नेहरूका उम्मेदवार पनि छन्। केही अपवादमा, यो निर्वाचनलाई रमाइलो बनाउने उम्मेदवार पनि छन्। तर, अहिले नै उनीहरू नानीमैया दाहाल जतिको ‘क्लाइमेक्स’ रमाइलो दिने स्थितिमा देखिँदैनन्, संघीय गणतन्त्रको दोस्रो निर्वाचन मात्र हो, जनता यसैपटक विकल्पविहीन अवस्थामा पुगिसकेका छैनन्। शायद, राजनीतिक दलभित्रैबाट उनीहरू यसपटक विकल्प खोज्नेछन्।
यसपटकको निर्वाचन सिद्धान्ततः निर्वाचनअघिको गठबन्धन अर्थात् प्रि–इलेक्सन एलायन्समै गयो। केन्द्रस्तरमै सत्ता गठबन्धन र सत्ताइतर गठबन्धन स्वीकार गरियो र त्यही किसिमको अभ्यास गर्ने प्रयास पनि भयो। तर, राजनीतिक दलभित्रकै गुटहरूको स्थानीय स्वार्थका कारण केन्द्रमा चाहेर पनि स्थानीयस्तरसम्मै ‘भर्टिकल एलायन्स’ हुन सकेन।
राजनीतिक दलका नेताहरूकै भाषामा कहीँ मित्र हुने नसके पनि मित्रवत् प्रतिस्पर्धा गरिने कुरा बाहिर आएको छ। यदि, यसैलाई अभ्यासमा उतारियो भने प्रकारान्तरमा त्यसले लोकतन्त्रलाई फाइदा नै गर्छ।
कांग्रेस सबैसँग विश्वासिलो सहकार्य गरेर अगाडि बढ्यो भने देशले ओलीको विकल्प पाउनेछ, त्यसो गर्दा कांग्रेसकै भागमा सबैभन्दा ठूलो जीत पनि हात पर्छ। तर, त्यसो नगरेर अहिले नै एकलौटी जितको सपना देख्यो भने कांग्रेसका लागि त्यो मृगतृष्णा मात्र हुनेछ।
मुलुकलाई दुई कित्तामा बाँढेर जे–जस्ता गठबन्धन बनाइए, ती सैद्धान्तिक आधारमा भन्दा पनि सत्ता केन्द्रित छन्। सिधा भाषामा भन्दा ओली पक्षधर र ओलीइतर। कसैले चाहे पनि नचाहे पनि यो निर्वाचनको केन्द्रविन्दुमा ओली नै छन्। किनकि, अहिले एमाले छैन, बामाले छ। र, अहिलेको स्थानीय निर्वाचनको सत्तारूढ दल भनेको बामाले हो। अझै पनि लगभग ४० प्रतिशत हिस्सा बामालेकै छ।
उम्मेदवारी दिँदासम्मको स्थिति हेर्दा बामालेले सबै कुरा बिर्सेर जित्न सक्नेलाई नै उम्मेदवारीको आधार बनाएको देखिन्छ। आदर्श, मूल्य, मान्यता, सिद्धान्त सबै उसले सिंहदरबारसँग साटेको छ। यौन दुव्र्यवहारदेखि चोरीको आरोप लागेकासम्म ‘जित्छन्’ भन्ने सम्भावित अंकगणितकै आधारमा उम्मेदवार बनाइएका हुन्।
दलबदल र उनीहरूलाई दिइएको उम्मेदवारीको आधार पनि उही छ। रोस्टरमा जसको नाम चढाइए पनि स्थानीय सरकारको प्रमुखमा ओलीले नचाहेका कुनै नाममा हरियो रेजा लागेको छैन। उता, सत्ता गठबन्धन भने यस कुरामा खासै चनाखो देखिएको छैन।
बामाले गठबन्धनभन्दा आफ्नो गठबन्धन बलियो भएको दम्भ उसमा देखिएको छ। सबै घटक नातावाद, कृपावाद र गुटबाटको चंगुलमा चुर्लुम्मै डुबेका छन्। राम्राभन्दा पनि हाम्राले उम्मेदवारी पाएका छन्। यसै पनि साना र बिटुलिएका दल छन्, उनीहरूका लागि राम्रो उम्मेदवारीको छनोटको सीमितता हुनु पनि अस्वभाविक छैन।
परिणामतः केन्द्रीय सत्ता गठबन्धनले जुन किसिमको चुनौती स्थानीय सत्तारूढ दल बामालेलाई दिने अपेक्षा गरिएको थियो, त्यो स्तरको देखिएको छैन। सत्ता गठबन्धनका अन्यः चार घटक केही समय पहिले मात्र पार्टी टुटफुटको शिकार भएकाले उनीहरू फर्ममा छैनन्। उनीहरूको यही कमजोरी देखाएर कांग्रेस आफूलाई पुगेर उब्रेको मात्र दिने सोचमा पुगेजस्तो देखिन्छ। फलतः अपेक्षाकृत संख्यामा स्थानीयस्तरमा तालमेल हुन सकेन। जसको प्रत्यक्ष फाइदा स्थानीयसत्तामा रहेको बामालेलाई हुने देखिन्छ।
कांग्रेस आफैँमा अनेक गुट–उपगुटको गठजोड हो। कांग्रेस हारलाई छिट्टै बिर्सने र धरातलीय यथार्थको राम्रो लेखाजोखा गर्न नसक्ने दलका रूपमा इतिहासमा एकपटक होइन, अनेकपटक बदनाम छ। यसपटक पनि कांग्रेसले त्यो गल्ती दोहोर्याउन डिलमा पुर्याइसकेको छ।
कांग्रेसी भनेको रूखमै मतदान गर्न जन्मेका अद्भूत प्राणी हुन् भनेर जुन किसिमको भाष्य बनाउन खोजिएको छ, त्यो आफैँमा असान्दर्भिक त छ नै, यसले हेपाहा सोचको ठाडो प्रतिविम्ब पनि पस्केको छ।
यसको अर्थ, अरू दलका मतदाताले रूखमा मत दिएर जिताउनु पुण्य हो भने कांग्रेस मतदाताले चाहिँ अरू दलको चिह्नमा मतदान गर्नु पाप भन्ने हो।
यसरी अरूलाई अपमानित गरेर कसरी सहकार्यको विश्वसनीय आधार बन्न सक्छ र ? समयको सन्देश र परिस्थितिको आदेश नमानेर कांग्रेस त्यतातिर लाग्यो भने उसको लागि त्यो बाटो सहज हुँदैन। रूखसँग सती जाने भाष्य बनाएर त्यही आधारमा अगाडि बढ्दा कांग्रेसका लागि करारी हार हात लाग्न सक्छ।
कांग्रेसको लागि यो हार यस निर्वाचनी शृंखलाको पहिलो हार हुने छ। त्यसपछिका प्रदेश र संघको निर्वाचनमा उसले सहकार्यका लागि अन्य दल नपाउन पनि सक्छ। नेपालको संविधान र यसले व्यवस्था गरेको निर्वाचनी प्रणालीमा तत्कालका लागि नेपालका कुनै पनि राजनीतिक दलसँग एकल बहुमत ल्याउने तागत छैन। जस्तोसुकै अवस्थामा पनि भएकै दलसँग मिलेर, गठबन्धन गरेर सत्तारूढ हुनुको विकल्प छैन। कांग्रेस, ओमाले, माओवादी र अर्को कुनै मधेसवादी दल नमिली सत्ताको अंकगणित हात लाग्ने अवस्था छैन।
यस्तो अवस्थामा बनिरहेको गठबन्धनलाई भत्काएर अर्को गठबन्धनका लागि मार्गप्रशस्त गर्नेभन्दा पनि भएको गठबन्धन जोगाउनु नै बुद्धिमानी हुन्छ। अहिलेको परिस्थितिले गठबन्धनमा रहेका कुनै पनि दललाई अर्को दलको कमजोरीमाथि बुर्कुसी मारेर रमाउने छुट नै दिदैन। बरू, उसको कमजोरी हटाउन सहयोग गरेर अगाडि बढ्नुपर्ने आदेश दिन्छ।
यो निर्वाचनमा मुलुकसामु ओली कि अन्य भन्ने विकल्प मात्र बचेको छ। परिस्थिति यति तरल बनेको छ कि अब सूर्यलाई मतदान गर्नु एमालेलाई होइन, ओलीलाई भन्ने अवस्था छ। र, ओली बलियो बन्नु भनेको पार्टी होइन, व्यक्ति बलियो बन्नु हो। मुलुकले अहिले अंगिकार गरिरहेको बहुदलीय लोकतन्त्रमा व्यक्ति होइन, दल बलियो बन्नुपर्छ।
यो निर्वाचनमा सत्तारूढ गठबन्धन त्यसमा पनि खासगरी नेपाली कांग्रेसले परिस्थितिको सही मूल्यांकन र समयको आदेश मान्यो भने सत्ता गठबन्धन बामाले गठबन्धनका लागि भारी हुने छ। त्यसपछि मात्र ओली साइजमा आउने छन्। अहिले जुनसुकै कोणबाट पनि ओलीलाई साइजमा ल्याउन जरूरी छ।
त्यसका लागि अरू केही गर्नै पर्दैन, एक वर्षअगाडि उनी सत्तामा हुँदा भएको अत्याचार सम्झे पुग्छ। सत्ता गठबन्धनका दल, नेता र उम्मेदवारले एक स्वरले आम मतदातालाई यही कुरा सम्झाउन सक्नुपर्छ। ओलीलाई पाठ पढाउन सकियो भने मुलुकलाई अस्थिरतामा धकेल्न उनले गरेका अपराधहरुको बोध उनलाई हुनसक्छ।
तर, त्यसो भएन भने फेरि पनि स्थानीयस्तरमा बामाले ठूलो जीतका साथ फर्कने छ। त्यसले ओलीको घमण्डको पारो मात्र बढ्ने छैन, आम मतदातामाझ ओली निर्विकल्प रहेछन् भन्ने खालको सन्देश पनि जान्छ। नेपाली मतदाताको मनोविज्ञान जित्नेलाई मत दिएर आफ्नो मत खेर नफाल्ने भन्ने पनि छ, हारी हाल्छ किन मत दिन जाने भन्ने पनि छ। यो दुवै मनोविज्ञानले फेरि पनि बामालेलाई नै फाइदा पुग्नेछ र प्रदेश र संघको निर्वाचनमा उसको पुनरागमन हुनसक्छ।
यता बामाले उत्साहित भइरहेको बेला उता सत्ता गठबन्धनका दलमा भने आपसी अविश्वास चुलिने छ, हारका लागि एकले अर्कालाई दोष दिने क्रम सुरू हुनेछ। अझ, कांग्रेसी उम्मेदवार जितेर गठबन्धनका अन्य उम्मेदवार हारे भने त्यसले फेरि एकपटक मुलुकलाई वामपन्थी ध्रवीकरणतिर लैजाने बाध्यता सिर्जना हुन्छ। त्यो अवस्थामा ओलीले फेरि प्रचण्ड र माधव नेपाललाई केही चारो हाल्नेछन् र कांग्रेसबाट धोका पाएका उनीहरूका लागि त्यो चारो टिप्नुको विकल्प हुँदैन।
यसबाट फेरि मुलुक थप अस्थिरतातिर धकेलिने छ। त्यसैले अहिलेको अवस्थामा सत्तारूढ गठबन्धन त्यसमा पनि नेपाली कांग्रेस बढी जिम्मेवारीका साथ प्रस्तुत हुन जरूरी छ। यस्तो जरूरी उसकै लागि त छ नै, मुलुक र मुलुकवासीका लागि पनि त्यतिकै जरूरी छ। कांग्रेसले के बुझ्न जरूरी छ भने देशको समग्र दुरवस्था कम्युनिष्टमैत्री छ। कम्युनिष्टहरू साँच्चै नै मिले भने उसलाई सिंहदरबार त के, बागदरबार पनि हात लाग्दैन।
त्यसैले उसले कम्युनिष्टहरू मिल्न नदिने खेल खेलेर त्यसबाट आर्जित शक्तिमार्फत मुलुकको कम्युनिष्टमैत्री अवस्थामा परिवर्तन ल्याउनुपर्छ। त्यो भनेको मुलुकलाई गरिबी, अशिक्षा, अभाव, बेरोजगारीजस्ता परिस्थितिबाट बाहिर ल्याउने हो। उसका लागि अर्को विकल्प भनेको मुलुकमा रहेका अरू दक्षिणपन्थी शक्तिलाई साथमा लिएर नयाँ गठबन्धन बनाउने र वामपन्थी शक्तिसँग आमनेसामने भएर सत्ता आर्जन गर्ने हो। तर, तत्कालका लागि यो सम्भावनाको अंकगणित पुगिसकेको छैन।
यो अवस्थामा ओलीलाई जिताउने कि हराउने भन्ने निर्णय गर्ने निर्णायक ठाउँमा कांग्रेस छ। उसले सबैसँग विश्वासिलो सहकार्य गरेर अगाडि बढ्यो भने ओली हार्नेछन् र त्यो हारमा सबैभन्दा बढी कसैको जीत हुन्छ भने कांग्रेसकै हुन्छ। तर, त्यसो नगरेर अहिले नै एकलौटी जितको सपना देख्यो भने उसका लागि त्यो दिवासपना हुनेछ र फेरि पनि ओली नै जित्नेछन्।
यो अवस्था यस कारणले पनि विद्यमान छ कि, चेतनाका हिसाबले अझै पनि नेपाली जनता जनार्दन हुन सकेका छैनन्। उनीहरू यो वा त्यो नामको वादको बन्दी छन्, विचारका बन्दी छन्, विषयमा आधारित निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनन्। जनताको यही कमजोरीबाट फाइदा लिएर नेताहरू सेवक हैन, शासक भइरहेका छन्।
सकिन्छ, यसैपटक जनता जनार्दन होऔं।