मालारानीमा एमालेको हर्कत : स्वतन्त्र उम्मेदवारको ‘अपहरण’, पत्रकारलाई धम्की (अडियोसहित)

तस्बिर : बलराम भुसाल। सामाजिक सञ्जालबाट
तस्बिर : बलराम भुसाल। सामाजिक सञ्जालबाट

सोमबार (हिजाे) देशैभर स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिने क्रम जारी थियो। अर्घाखाँचीको मालारानी गाउँपालिकाको खनदहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू दलबलसहित उम्मेदवारी दिन पुगेका थिए। सोही क्रममा यहाँ उम्मेदवारी दिन पुगेका स्वतन्त्र उम्मेदवार मोहित विश्वकर्मालाई नेकपा (एमाले) खन वडा कमिटी अध्यक्ष बलराम भुसालसहितको समूहले तानेर बाहिर लग्यो।

मालारानी गाउँपालिका वडा–४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनको लाइनमा बसेका बेला विश्वकर्मालाई तानेर बाहिर लागिएको थियो। त्यसपछि विश्वकर्मा कहाँ गए कसैलाई थाहा भएन। उम्मेदवारी दिने समय सकिनै लागेकाले सबै मानिस हतारमा थिए, त्यसतर्फ कसैको ध्यान गएन।

लगतै विश्वकर्माले साथीहरूलाई फोन गरेर भने, ‘म उम्मेदवारी दिन आएका बेला एमालेका बलराम दाइले कोठामा ल्याएर थुनेका छन्, के गर्ने ?’

बलराम भुसाल: तपाईंले याे कुरा मिडियामा लेख्नुभयो भने तपाईंलाई म खुल्ला च्यालेञ्ज दिन्छु, खन आउने हो कि होइन ? के कुरा गर्नुहुन्छ तपाईंले ?

मोहितका ती साथीले सोही कुरा बिएल नेपाली सेवालाई बताएर सहयोग मागे। उम्मेदवार दिन गएका व्यक्ति निर्वाचन अधिकृतको कार्यालयबाटै अपहरणशैलीमा कब्जामा परेको सूचनापछि बिएल नेपाली सेवाको टोलीले विश्वकर्मालाई सम्पर्क गर्‍यो। विश्वकर्माले पनि आफू उम्मेदवारी दिन गएका बेला इच्छाविपरीत नियन्त्रणमा लिइएकाे जानकारी दिए। उनी बोलेर नसक्दै वडा कमिटी अध्यक्ष भुसालले मोबाइल खोसेर उल्टो पत्रकारलाई नै धम्की दिन थाले।

प्रस्तुत छ सोही समयमा बिएल नेपाली सेवाको टोली, विश्वकर्मा र भुसालबीचकाे कुराकानी जस्ताको तस्तै:

मोहित विश्वकर्मा: तँ हाम्रो पार्टीको सदस्य होस् सदस्यता खारेज नगरी उम्मेदवार दिन पाउन्नस् भनेर मलाई कोठामा ल्याएर राख्नओ छ।

बिएलकर्मी: ए, अहिलेसम्म उम्मेदवारी दर्ता गर्न दिनुभएको छैन ?

मोहित विश्वकर्मा: अहँ

बिएलकर्मी: के भन्नुहुन्छ उहाँले ?

मोहित विश्वकर्मा: उहाँहरूले त अब हामी समन्वय गरेर जाउँ कसरी हुन्छ, अहिले आएर हामीलाई घात दिने काम नगर, भनेर ...दाइसँग पनि कुरा गर्नुभयो, धेरैबेर। मलाई यहाँबाट निस्कन दिनुभएन फाइल त्यही टेबलमा छ, दर्ता गर्न लागेको।

बिएलकर्मी: भनेपछि दर्ता भएन होइन ?

मोहित विश्वकर्मा: मैले गर्न दिएको, राजश्व तिरेको छैन। राजश्व तिर्न गएका बेला दाइले तँ एकछिन यहाँ आइजा भनेर लिएर आउनुभयो।

बिएलकर्मी: तपाईंलाई के को आवश्यकता छ के गर्न सक्छाैँ हामी ?

मोहित विश्वकर्मा: मैले त अब दर्ता गर्न पाए हुने थियो भन्ने हो। ...दाइसँग पनि कुरा गर्नुभयो अहिले दाइ र म सँगै छौँ।

बिएलकर्मी: त्यसो भए अपहरण गरियो भन्ने त होला नि ?

मोहित विश्वकर्मा:  लौ दाइसित कुरा गर...।

बिएलकर्मी: दाइ।

बलराम भुसाल: हजुर, हजुर।

बिएलकर्मी: के हो ? उम्मेदवारी दर्ता गर्न गएका बेला उसले ऊ भयो भन्यो, यो त अपहरण भएन र ?

बलराम भुसाल: अपहरण कसरी भयो त पार्टीमा बसेर छलफल गरेको छ, अपहरण हुन्छ ?

बिएलकर्मी: होइन।

बलराम भुसाल: ऊ पार्टीको आधिकारिक व्यक्ति हो। ऊ हाम्रो सदस्य हो। पार्टीमा कुनै जानकारी छैन, पार्टीमा केरे राजीनामा बुझाएको छैन अहिलेसम्म अनि अपहरण हुन्छ ?

बिएलकर्मी: होइन, उसले के भन्छ भने म उम्मेदवारी दिन आएको हो, रोकियो भन्छ।

बलराम भुसाल: अपहरण भएको छ भन्ने कुरा कसरी ल्याउनुभयो मसित ?

बिएलकर्मी: होइन, उसले भन्यो त नि ?

बलराम भुसाल: त्यो पार्टीमा बसेको छ, मेरो पार्टी सदस्य हो। राजीनामा दिएको छैन अहिलेसम्म, पार्टीमा लेवी तिरिहेको छ।

बिएलकर्मी: होइन पार्टीमा याे/उ गरेको छ भन्ने कुरा सकियो के, उसले इच्छाविपरित समातियो भनेपछि त अपरहण नै भयो नि।

बलराम भुसाल: उसले कि म पार्टी सदस्य होइन भनेर राजीनामा दिन पर्‍यो।

बिएलकर्मी: तपाईंहरूले प्रक्रियामा गएर कारबाही गर्ने हो कि कोठामा थुन्ने ?

बलराम भुसाल: कारबाही गर्ने, थुन्ने कुरै होइन त। खुल्ला रूपमा बहस गरेका छौँ, थुनेकै होइन त।

बिएलकर्मी: उसले के भन्छ भने म उम्मेदवारी दिन चाहन्छु तर उम्मेदवारी दिन दिइएन भन्छ, अब राजनीतिक संस्कारमा राजनीतिक हिसाबले कारबाही गर्ने हो कि काेठामा थुन्ने हो, दाइ ?

बलराम भुसाल: हरेक कुराले उसले हामीसँग बसेर छलफल पनि गर्नपर्छ र राजीनामा पनि दिनुपर्छ, जानकारी पनि दिनुपर्छ। पार्टी सदस्य तिर्ने, पार्टीका आधिकारिक मिटिङ के रे संगठनमा बस्ने अनि वैचारिक कुरा नगरी उम्मेदवारी दिन थालेपछि हामीले पनि दुई/चार कुरा राख्न पाउने कि नपाउने ?

बिएलकर्मी: तपाईंहरूले प्रक्रियामा गएर कारबाही गर्नु न किन थुन्नु भएको ?

बलराम भुसाल: कसले थुन्यो भनेको छ र?

बिएलकर्मी: एमालले स्वतन्त्र उम्मेदवारलाई अपरहण गर्‍यो भन्ने सूचना यहाँ आयो ? मैले त्यही कुरा बुझ्न खोजेको ?

बलराम भुसाल: तपाईंले याे कुरा मिडियामा लेख्नुभयो भने तपाईंलाई म खुल्ला च्यालेञ्ज दिन्छु, खन आउने हो कि होइन ? के कुरा गर्नुहुन्छ तपाईंले ?

बिएलकर्मी: म त्यहाँ आउने कि नआउने भन्ने कुरा होइन, मलाई यस्तो–यस्तो भयो भन्ने सूचना आयो मैले के लेख्ने ?

बलराम भुसाल: तपाईंले कुन मुखबाट बोल्दै हुनुहुन्छ ? तपाईं खनको मान्छे होइन, म पार्टी अध्यक्ष हो, मैले खुल्ला रूपमा बहस चलाइरहेको छु।

बिएलकर्मी: यस्तो सूचना आएपछि हामीले बुझ्न पाउने कि नपाउने ल भन्नु त ?

बलराम भुसाल: तपाईंले बुझ्दै गर्दा यहाँ अहिले पार्टी जिल्ला अध्यक्ष पनि आउँदै हुनुहुन्छ।

बिएलकर्मी: म पत्रकारले सोध्दा तपाईंले जे कुरा भन्नुभयो, अब मैले यस विषयमा के लेखौँ अब भन्नु ?

बलराम भुसाल: उसले पार्टीमा केही पनि जानकारी गराएको छैन।

बिएलकर्मी: सूचना आएपछि मैले तपाईंसँग कुरा बुझेँ, अब मैले के लेख्ने ल भन्नु तपाईंको धारणा ?

मोहित विश्वकर्मा: उसले जे भन्छ त्यही लेख्नुहोस्।

बलराम भुसाल: ला कुरा गर...।

मोहित विश्वकर्मा: हजुर।

बिएलकर्मी:  दाइ अब के गर्ने तपाईं भन्नुस्। 

मोहित विश्वकर्मा: दाइले यहाँबाट तँ हिँड्नै पाउन्नस्, पार्टीमा सल्लाह नगरी कुनै पनि हालतमा दर्ता गर्न पाउन्नस् भन्नुहुन्छ।

बिएलकर्मी:  तपाईंले, उम्मेदवारी दिएपछि प्रक्रियागत हिसाबले कारबाही हुन्छ। यसरी भौतिक कारबाही गर्न मिल्दैन।

मोहित विश्वकर्मा: के गर्ने अब मैले तल फाइल छोडेको छु। म दाइसँग छु, दाइले कुनै पनि हालतमा उम्मेदवारी दर्ता गर्न दिन्न भन्नुच....। (फोन काटिन्छ)

बिएल नेपाली सेवाको टोलीले कुराकानी गरिरहँदा विश्वकर्माको परिवार र साथीहरू प्रहरीमा उजुरी दिने तयारीमा थियो। त्यसको केही समयपछि विश्वकर्माको मोबाइल अफ हुन्छ। पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन्। त्यतिबेलासम्म अधिकांश सञ्चार माध्यमबाट त्यसबारे समाचार बाहिरिसकेको थियाे।

त्यसको केही समयपछि विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू एमाले पार्टीमा रहेको कुरा जानकारी दिन्छन्।

‘साथीहरू सबैमा अनुरोध छ, म अहिले नेकपा एमाले पार्टीमा रही पार्टीका नीति विधानअनुसार काम गर्ने संकल्प गरेकाे हुँदा कसैले नराम्रो टिप्पणी नगरिदिनुहोला,’ विश्वकर्माले सामाजिक सञ्जालमा लेखे।

तर, उनले त्यसको केही समयमै त्यो ‘स्टाटस’ हटाए। उनले त्यो स्टाटस अध्यक्ष भुसालले आफ्नो फेसबुकबाट जर्बजस्ती लेखिदिएको बताएका छन्।

‘एमालेले यस्ता जुझारू युवाको सोच र विचारमाथि संगिन प्रहार गर्ने काम गर्‍यो। यस्तै हो भने गाउँको विकास कहिले हुँदैन, सतीलाई श्राप्नुको विकल्प छैन,’ सोही समूहका एक युवाले भने।

‘त्यो स्टाटस मैले लेखेको होइन, मलाई नियन्त्रणमा लिएर बलराम दाइले राख्निुभएको हो। अहिले हटाएको छु,’ मध्ये रातमा बिएल नेपाली सेवाको सम्पर्कमा आएका विश्वकर्माले भने।

विश्वकर्मा हाल आफ्नो निवासमा सुरक्षित छन्। आफ्नो अधिकार एमालेले हनन् गरेको भन्दै उनी कानूनी उपचारको खोजीमा  छन्।

अधुरै रह्याे गाउँको विकास गर्ने सपना

यसअघि निर्वाचित जनप्रतिनिधिले गाउँको विकास गर्नुको साटो चरम भ्रष्ट्राचार गरेको भन्दै यहाँका युवाहरू असन्तुष्ट थिए। वडाध्यक्ष विष्णु पोख्रेलले पटक–पटक आर्थिक अनियमितता गरेर कारबाही भोग्दै जनताको अधिकारमाथि प्रहार गर्न थालेकाे भन्दै फरक सोच र विचार राख्ने यहाँका युवाहरूले स्वतन्त्र उम्मेदवारी दिने निणर्य गरेका थिए।

योग्यता र क्षमता नभएका, भ्रष्ट्राचारमा लिप्त पोख्रेल यसपटक पनि वडा अध्यक्षमा दोहोरिन लागेको आरोप र गठबन्धन (कांग्रेस–माओवादी केन्द्र)बाट  आशा गर्न लायक उम्मेदवार नउठ्ने संकेत पाएपछि युवाहरूले गाउँको विकासको लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका थिए।

त्यसो त विभिन्न राजनीतिक दलबाट नयाँ सोच भएका युवाले उम्मेदवारी दिनुपर्ने माग उनीहरूको थियो। तर, राजनीतिक दलबाट त्यो सम्भव नभएपछि उनीहरूले आफ्नो तरिकाले जाने तयारी थालेका थिए। त्यसको लागि उनीहरूले देश तथा विदेशमा रहेका केही नेपालीबाट आर्थिक सहयोग मागेका थिए। तर, उम्मेदवारी दिन जाँदा कब्जामा परेपछि यहाँका युवाहरू अहिले निराश भएका छन्।

‘हाम्रो चाहना गाउँलाई युवाको सोचअनुसार विकास गर्ने थियो। हामीले बुढा नेताले समयको गति र युवाको चाहनाअनुसार काम गर्न सक्दैनन् भन्ने लागेर नयाँ सोचका साथ अगाडि बढेका थियौँ। तर, एमालेले यस्ता जुझारू युवाको सोच र विचारमाथि संगिन प्रहार गर्ने काम गर्‍यो। यस्तै हो भने गाउँको विकास कहिले हुँदैन, सतीलाई श्राप्नुको विकल्प छैन,’ सोही समूहका एक युवाले भने।

उनले विकास विराेधी दललाई गाउँबाट बहिष्कार गर्ने बताए।

युवा जोशमाथि समाजको लाञ्छना

वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन युवाको सहयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका विश्वकर्माले एमाललेबाट पैसा खाएर यस्तो ‘नाटक’ गरेको त्यहाँका स्थानीय युवाले आरोप लगाएका छन्।

यतिबेला उनीहरूले सामाजिक सञ्जालमा विश्वकर्माबारे नकारात्मक टिप्पणी दिनसमेत पछि परेका छैनन्। तर, विश्वकर्माले भने आफूले साथीहरूकाे विश्वासमा घात नगरेको र अहिले पनि युवाकै पक्षमा रहेको बताएका छन्। उनले यस विषयलाई लिएर कानूनी प्रक्रियामा जाने र सबै सत्य बाहिर ल्याउने बताए। आफू परिबन्दमा परेर यस्तो घटना हुन पुगेकोप्रति दुखी रहेकाे उनी बताउँछन्।

प्रकाशित मिति: : 2022-04-26 20:58:00

प्रतिकृया दिनुहोस्