नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जाँदाजाँदै आयोजना गरेको 'बिदाई भोज' खाएर प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार फर्किएका छन्।
उनी झण्डै एक घण्टा लैनचौरस्थित राजदूतनिवासमा आयोजित बिदाई रात्रीभोजमा सरिक भएर सरकारीनिवास फर्किएका हुन्।
राजदूत क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि नयाँदिल्ली फर्किँदै छन्। उनले आफू जानुअघि मंगलवार प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र शीर्ष नेपाली नेताहरूलाई लैनचाैरमा जम्मा गरेर भाेज खुवाएका हुन्।
बिदाई कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई र पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेको दूतावास स्रोतले जनाएको छ।
राजदूतको भोजमा मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र नेपालस्थित विभिन्न देशका राजदूतहरू पनि भोज खाएर फर्किएका छन्।