जर्नादनको आरोप– वर्षमान गठबन्धन ताेडेर एमालेसँग मिल्न खोजे (भिडियाे)

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र अर्का प्रभावशाली नेता वर्षमान पुनबीचको आन्तरिक विवाद फेरि सतहमा आएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन प्रकरणसँगै अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्री पुन एकअर्काविरूद्ध मिडियामा उत्रिएका छन्। अन्य दलका नेताहरू स्थानीय तहको चुनावी प्रचारप्रसारमा व्यस्त बनिरहँदा शर्मा र पुनले भने एकअर्कालाई कटाक्ष गरिरहेका छन्।

'शर्मा–पुन' विवादले चुनावको संघारमा माओवादी केन्द्रलाई थप संकटमा धकेलेको छ। प्राइम टाइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा माओवादी नेता शर्माले पुनमाथि आफ्नो आक्रोष पोखेका छन्।

शर्माले भनेका छन्, ‘एमाले पार्टीसँग अहिले उहाँ (वर्षमान) तालमेलमा जान चाहनुहुन्छ। गठबन्धन सरकार छ। पार्टी अध्यक्ष कमरेड प्रचण्डको कुरा गठबन्धनलाई बलियो बनाउने भन्ने छ। गठबन्धनलाई अगाडि लैजाने र गठबन्धनभित्र चुनावी तालमेल गर्ने कुरा चलिरहेको छ। उहाँ (वर्षमान)लाई यो कुरा मन पर्‍या छैन। मन नपरेपछि उहाँलाई गठबन्धनको विरोध गर्नुछ। त्यो विरोध म–मार्फत् गर्ने अवसरमा मात्रै प्रयोग गर्नुभएको हो।’

उनले गठबन्धनमा राजनीतिक भविस्य नदेखेपछि पूर्वअर्थमन्त्री पुन पछिल्लाे समय एमालेसँग नजिकिन थालेकाे जनाएका छन्। पार्टीभित्रै आफूविरूद्ध गुटगत गतिविधि गरिरहेको निकट नेताहरूसँग शर्माले गुनासाे गरेकाे स्राेतले बताएकाे छ।

‘मेरो तर्फबाट उहाँ (वर्षमान)सँग राम्रै सम्बन्ध छ। तर, उहाँले नराम्रो काम गरेको कहाँ देख्नुभएको छ? व्यक्तिगत र पार्टीगत रूपमा पनि सुझाव दिनुभएको छैन। उहाँ (वर्षमान)ले पत्रिकालाई भन्नुभएको छ। त्यो उहाँको ड्युटीको कुरा हो,’ उनले भनेका छन्, ‘मेरोविरूद्ध भन्दा पनि उहाँको बुझाइको समस्या हो। उहाँले थोरै यसबाट राजनीतिक फाइदा हुन्छ कि भनेर गर्नुभएको होला! उहाँलाई फाइदा हुँदैन।  हामी साथी–साथी हौं। एउटै पार्टीका सहयोद्धा हौं।’

प्रकाशित मिति: : 2022-04-12 17:48:00

प्रतिकृया दिनुहोस्