मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना

मिलन के राउत

उर्लाबारी

राज्यपुनर्सरचना गर्दा गाउँपालिकाको नाम ‘अर्कै’ भएपछि मधुमल्लाको पहिचान ओझेल परेको स्थानीयको गुनासो रहँदै आएको छ। साविकका मधुमल्ला, टाँडी र रमितेखोला गाविसलाई समेटेर मिक्लाजुङ गाउँ पालिका नामाकरण गरिएपछि स्थानीयमा चर्को असन्तुष्टि रहदै आएको छ।

पुर्वी नेपालकै पुरानो बजार कहलिएको मधुमल्लाको नामलाई ताजगी राख्ने हेतुले यहाँ पहिलोपल्ट गोल्डकप आयोजना गरिएको छ। ऐतिहासिक महत्व बोकेको मधुमल्लाको पहिचानका खातिर गोल्डकप आयोजना गरिएको एक कार्यक्रममा जानकारी दिइयो।

नयाँ वर्षको अवसर पारेर ‘प्रथम मधुमल्ला गोल्ड कप २०७९’ आयोजना हुने भएको हो।इष्ट स्टार स्र्पोटिङ क्लब मधुमल्लाको आयोजनामा बैशाख २ गतेदेखि ९ गतेसम्म खेल हुने जनाइएको छ। उद्घाटन खेलमा युके एफसी कर्साङ भारत र रोयल स्र्पोटिङ क्लब दमकबीच स्पर्धा हुने खेल संयोजक सागर लुईटेलले जानकारी दिए।

यस्तै, जलथल एफसी झापा, पुलिस क्लब रानी, आयोजक इष्ट स्टार स्र्पोटिङ क्लब मधुमल्ला, राष्ट्रिय जागृति फुबटल क्लब इहटरी, विजय युथ क्लब हेटौडा र चर्च ब्वाइज काठमाडौंको पनि सो गोल्डकपमा सहभागिता रहने लुइटेलको भनाई छ। मधुमल्लास्थित मनोहर जनता माविको प्राङ्गणमा प्रतियोगिता हुनेछ ।

खेलका विजेतालाई नगद ३ लाख ३ सय ३३ रुपैयाँ र उप–विजेतालाई १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोनक इष्ट स्टार क्लबका अध्यक्ष सुसन खड्काले जानकारी दिए। खड्काका अनुसार प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहयोगी दाताकै भरमा ऐतिहासिक गोल्डकप आयोजना गर्न लागिएको उनले जनाए।

प्रतियोगिताभर ३५ हजार बढी दर्शकले खेल हेर्ने अनुमान गरिएको छ। ‘विगतमा च्यालेञ्जकपका नाममा फुटबल प्रतियोगिताहरु हुने गरेका थिए,’ अध्यक्ष खड्काले भने – ‘मधुमल्लामा पहिलोपल्ट गोल्डकप हुने भएको छ, सभ्य र भव्यरुपमा खेल सम्पन्न गर्ने आसा लिएका छौ ।’ उनले मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना गरिएको जनाउँदै प्रतियोगिताहरुमा सहभागिता जनाउन सबैमा आग्रह गरे । खेल सशुल्क हुनेछ ।

 

प्रकाशित मिति: : 2022-04-08 12:45:00

प्रतिकृया दिनुहोस्