अघिल्लो दिनसम्म काम गरेर फर्केको भोलिपल्ट ठिक समयमा काममा पुग्दा कम्पनी बन्द भएको थियाे। सम्झौतापत्र अनुसार आवश्यक क्षतिपूर्ति दिएर बिदा गरिने र त्यसको सूचना फोनमा दिइने भएको कारण अब उप्रान्त काममा आउनु पर्दैन भन्ने सूचना देख्दा छाँगोबाट खसेको जस्तो भयो।
कोभिड– १९ को कारणले नयाँ काम पाउन मुश्किल र बस्दै गरेको अपार्मेन्टको लिज पनि अर्को महिना समाप्त हुने भएको कारण एकैपटक दुई वटा समस्याले घेर्दा एकछिनसम्म के गर्ने र के नगर्ने भन्ने भयो।
बेरोजगार भएको अवस्थामा नयाँ लिज गर्ने त् कुरै भएन, नयाँ काम नपाउञ्जेलसम्म यसो कुनै नेपालीको घरमा ‘पेइङ्ग गेष्ट’ जस्तो गरेर बस्न सकिन्थ्यो कि भनेर दुई/चार साथीहरुलाई भनेको र उनीहरुले प्रयास पनि गरिदिएका हुन्। तर, कतै काम बन्न सकेन। अपार्मेन्ट छोड्नुपर्ने समय आउन थालिसक्यो कता जाने र के गर्ने भन्ने थाहा छैन, बढो पिर पर्न थाल्यो। त्यस्तै अन्तर्द्वन्द चलिरहेको थियो, त्यसैबेला फेसबुकमार्फत् क्याम्पस पढ्दाको साथी रेशम पोखरेलसँग सम्पर्क भयो।
कतै केही भइहाल्छ कि भनेर रेशमसँग यो कुरा राखेको थिएँ। उसले आफ्नो दाइ कनेक्टिकटको हार्डफोर्डमा रेस्टुरेन्ट व्यावसाय गरेर बसेको र उहाँले सहयोग गर्न सक्ने बतायो। त्यसपछि रेशमको दाइ आदरणीय गोपाल पोखरेलसँग कुरा त् भयो तर त्यो बेला एउटा राज्यबाट अर्को राज्यमा जान सहज थिएन। त्यसको लागि अनेक प्रकारको कागजी कारबाही गर्नुपर्थ्यो। तर, मसँग त्यसको लागि समय थिएन।
त्यसपछि रेशमले आफ्नो एक आफन्त नर्थ क्यारोलिनामै भएको र उसले केही सहयोग गर्न सक्ने बतायो। उसको यो जवाफ सुन्दा सगरमाथाको टुप्पोमा पुगेको जस्तो भान भयो। त्यसपछि सम्पर्क भयो बाबुराम दवाडी र उनका भाइ त्रिलोचन दवाडीसँग। आफ्नो कामसहित रेस्टुरेन्ट व्यावसाय पनि गर्दै आएका दवाडीले मलाई सहयोग गर्ने वचन दिए। र, अमुल्य सहयोग पनि गरे। उनले गरेको यो सहयोगलाई शब्दमा वर्णन गर्न सकिन्न। कता जाने र के गर्ने भन्ने मान्छेलाई अमेरिकाजस्तो ठाउँमा करिब ८ महिना नि:शुल्क खान, बस्न दिनु सानो सहयोग होइन। उनको रेस्टुरेन्टमा काम गर्ने कामदारहरुसँग म बसेको थिएँ।
हाम्रो समाजमा एउटा प्रचलन छ, ताप्केभन्दा बिँड छिटो तात्ने।’ जसको सहयोगमा आएको हो, त्यो मान्छेलाई कुनै मतलब छैन। सरोकार नै नभएका मान्छेहरुलाई म त्यहाँ बसेकोमा पेट पोल्न थाल्यो। तर, त्यसलाई मैले खासै मतलब गरिन्। यसको साथै त्याहाँ सहयोगी साथीहरु पनि थिए। मल्लजी, रेशमको भतिजो लालचन्द्र, सन्तोष रिजाल र सानो भाइ दिपक बोहरा। यिनीहरु सबैले मलाई आ– आफ्नो तर्फबाट सहज हुने परिस्थति बनाउन प्रयास गर्थे, जसलाई म जिन्दगीभरि बिर्सन सक्दिनँ।
त्यसपछि म जर्जियामा नयाँ काम पाएर त्यँहाबाट फर्केको पनि लगभग एक वर्ष पुग्न आट्यो। यसै सन्दर्भमा मलाई त्यो सङ्कटको घडीमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु। तर, रेशमलाई भने धन्यवाद नभन्ने किनकी यो जिन्दगीमा अरु–अरु पनि दु:ख दिनुछ। सबै दु:ख दिएपछि एकै पटक धन्यवाद भन्ने विचार गरेको छु।